काठमाडौं। भारतीय गायन रियालिटी शो इन्डियन आइडलबाट संसारभर चम्किरहेकी दृष्टिविहीन गायिका मेनुका पौडेलले अब केही हदसम्म आँखा देख्ने भएकी छन्। इन्डियन आइडलबाट दर्शकदेखि निर्णायकसम्मको मन जित्दै आएकी मेनुकाको इन्डयिन आइडलकै टिमले मुम्बईको एक प्रतिष्ठित नेत्र चिकित्सकलाई आँखाको जाँच गराएको छ।
जन्मजात दृष्टीविहीन मेनुकाको आँखाको उपचार हुने इन्डियन आइडलको आइतबारको एपिसोडमा जानकारी गराइएको छ। जाँचपछि चिकित्सकले उनले पूर्णरूपमा दृष्टि पाउन नसके पनि विषेश खालको डिभाइसको मद्दतले आंशिक दृष्टि पाउन सक्ने बताएका छन्।
चिकित्सकले मेनुकाको आ“खाको अवस्थाअनुसार अप्टिक नर्भले काम नगरेका कारण उनले देख्न सक्ने सम्भावना नरहेको बताएका छन्। तर, डिभाइसको मद्दतले आंशिक काम गर्ने बताएका छन्। कार्यक्रममा चिकित्सकले मेनुकाको आँखा जाँचसम्बन्धि एक भिडियो प्रस्तुत गरिएको थियो। जसमा चिकित्सकले उनी डिभाइसको मद्दतले एक्लै हिँड्न, मानिसहरूको अनुहार पहिचान गर्न र पढ्न पनि सक्ने बताएका छन्।






























