विराटनगर । यस वर्ष पर्याप्त पानी नपर्दा कोशी प्रदेशमा धान रोपाइँ प्रभावित भएको छ । कृषि विकास निर्देशनालय, कोशी प्रदेशले आइतबार (साउन ११ गते) सार्वजनिक गरेको तथ्याङ्कअनुसार, प्रदेशभर हालसम्म ८०.३९ प्रतिशत मात्र रोपाइँ सकिएको छ ।
निर्देशनालयको विवरणअनुसार, प्रदेशको कूल १ लाख ९३ हजार २८५ हेक्टर धान खेती हुने क्षेत्रफलमध्ये हालसम्म १ लाख ६१ हजार २४६ हेक्टरमा मात्र रोपाइँ भएको छ ।
ताप्लेजुङ, सङ्खुवासभा र सोलुखुम्बु जस्ता उच्च पहाडी जिल्लाहरूमा औसतमा ६८.४६ प्रतिशत मात्र रोपाइँ भएको छ। पाँचथर, इलाम, भोजपुर, तेह्रथुम, धनकुटा, उदयपुर, ओखलढुङ्गा र खोटाङ जस्ता मध्य पहाडी जिल्लाहरूमा ७४.४३ प्रतिशत रोपाइँ सकिएको छ । झापा, मोरङ र सुनसरी जस्ता तराईका जिल्लाहरूमा भने ८३.४२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।
सबैभन्दा बढी ओखलढुङ्गामा ९१.८७ प्रतिशत, मोरङमा ८५ प्रतिशत र सुनसरीमा ८४ प्रतिशत रोपाइँ भएको छ। त्यस्तै, सोलुखुम्बुमा ८९ प्रतिशत र खोटाङमा ८८.५८ प्रतिशत रोपाइँ भएको छ । खडेरीको सबैभन्दा बढी मारमा तेह्रथुम परेको छ । जहाँ ५६ प्रतिशत मात्र रोपाइँ हुन सकेको छ। धनकुटामा ६१ प्रतिशत रोपाई भएको छ ।































