काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती हुने

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा १५ गतेदेखि २६ गतेसम्म विद्युत् आपूर्ति कटौती हुने भएको छ।

भूमिगत विद्युत् वितरण प्रणाली सञ्चालनमा ल्याउन तथा आगामी हिउँदको विद्युत् माग व्यवस्थापनका लागि आवश्यक प्राविधिक काम गर्न विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति कटौती गर्न लागिएको हो।

कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्रअन्तर्गतका विभिन्न क्षेत्रमा असोज १५ गतेदेखि २६ गतेसम्म चरणबद्ध रूपमा विद्युत् कटौती गरिनेछ। सम्बन्धित क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द गरी भूमिगत लाइन सञ्चालनमा ल्याउने तथा आवश्यक प्राविधिक काम गरिने जनाइएको छ।

निर्धारित कार्यतालिकाअनुसार असोज १५ गते सतुंगल–बौथली, १६ गते मच्छेगाउँ–दोभान चोक तथा खुसी चोक, १७ गते मुलपानी, १८ गते गर्जुधारा र २० गते पुनः मुलपानी क्षेत्रमा विद्युत् कटौती हुनेछ।

त्यस्तै, असोज २१ गते बलम्बु, २२ गते कोटेश्वर–बालकुमारी, २४ गते सिफल, २५ गते सतुंगल–धौलागिरी आवास क्षेत्र र २६ गते धोबीखोला क्षेत्रमा विद्युत् आपूर्ति कटौती गरी भूमिगत लाइनसम्बन्धी काम गरिनेछ।

मौसम प्रतिकूल भएमा निर्धारित समयमा विद्युत् आपूर्ति कटौती नगरिने जनाइएको छ।

काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणालीलाई भूमिगत, सुदृढ र स्वचालित बनाउने उद्देश्यले नेपाल विद्युत् प्राधिकरणले चरणबद्ध रूपमा काम अघि बढाइरहेको छ। पहिलो चरणमा काठमाडौंको रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा भूमिगत वितरण प्रणाली निर्माणको काम सुरु गरिएको थियो।

दोस्रो चरणमा काठमाडौं जिल्लाका बाँकी सहरी क्षेत्र, तेस्रो चरणमा ललितपुर तथा भक्तपुरका सहरी क्षेत्र र चौथो चरणमा पोखरा तथा भरतपुर महानगरपालिकाअन्तर्गतका क्षेत्रमा विद्युत् वितरण प्रणालीलाई भूमिगत, सुदृढ र स्वचालित बनाउने काम भइरहेको छ।

यस कार्यक्रमअन्तर्गत ३३ केभी, ११ केभी तथा ४०० भोल्टका विद्युत् लाइन भूमिगत गरिनुका साथै अप्टिकल फाइबरसमेत बिछ्याइनेछ।

भूमिगत प्रणाली सञ्चालनमा आएपछि विद्युत् आपूर्तिको विश्वसनीयता र सुरक्षा अभिवृद्धि हुनुका साथै वितरण प्रणालीलाई क्रमशः स्वचालित बनाउन सहयोग पुग्ने प्राधिकरणको अपेक्षा छ।

सडक तथा सहरी क्षेत्रमा विद्युत्, टेलिफोन र इन्टरनेट सेवा प्रदायकका तार जथाभावी तथा गुजुल्टिएर रहँदा देखिने अव्यवस्थित अवस्थालाई समेत भूमिगत प्रणालीले व्यवस्थित गर्न सहयोग गर्नेछ।