भोटेकोसी बाढीमा ६ हजार बेपत्ता, १४ सयको मृत्यु

भोटेकोसी बाढीमा बेपत्ता हुनेको संख्या ६ हजार नाघेको छ भने एक हजार चार सयभन्दा बढीको मृत्यु भएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, बुधबार साँझसम्म एक हजार ४०३ जनाको शव भेटिएको छ। सबैभन्दा बढी चितवनमा ३६४ जनाको शव भेटिएको हो।

त्यस्तै, नवलपरासी पूर्वमा २३२, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा २०२, रसुवामा १९३, गोरखामा ७८, धादिङमा ७२ र तनहुँमा ३८ जनाको शव भेटिएको हो। दुई जनाको भने उपचारका क्रममा मृत्यु भएको प्राधिकरणले जनाएको छ।

हालसम्म शव भेटिएकामध्ये १०४ जनाको मात्रै पहिचान खुलेको छ। उनीहरूको शव परिवारलाई हस्तान्तरण गरिसकिएको छ।

यसैगरी, बाढीपछि बेपत्ता हुनेहरूको संख्या पनि ६ हजार १५० पुगेको छ। सबैभन्दा बढी रसुवाबाट एक हजार ६७७ स्थानीय बासिन्दा र एक हजार ८३६ जना अन्य जिल्लाका बासिन्दा हराइरहेका छन्।

त्यस्तै, नुवाकोटबाट ७९६ स्थानीय बासिन्दा र एक हजार ३१० जना अन्य जिल्लाका हराइरहेको प्राधिकरणले जनाएको छ।

भोटेकोसी बाढीमा परेर ६३६ जना विदेशी नागरिक पनि हराइरहेका छन्। उनीहरू नेपाल भ्रमणमा आएका थिए।