अचार बेचेरै मासिक ६० हजार कमाइ

कैलाली – यहाँका युवा व्यवसायी करन ऐरले धनगढी उपमहानगरपालिका–९ बङ्राकटानमा विगत आठ वर्षदेखि शान्ति बाटिका फलफूल प्रशोधन उद्योग सञ्चालन गर्दै आएका छन् । यस उद्योगबाट उनले विभिन्न थरिथरीका अचार बनाएर बिक्री गर्दै आएका हुन् ।

विशेषगरी यहाँ आँप, अमला, कागती, तामा, लसुन, अकबरे खुर्सानी, करेला, मुलालगायत अचार बनाउने गरिएको छ । ऐरले थोरै लगानीमा सुरु गरेको व्यवसायबाट पछिल्लो समय राम्रो आम्दानी भइरहेको बताए । अचार बिक्रीबाट मासिक रूपमा रु एक लाख ५० हजार बराबरको कारोबार हुने गरेका र त्यसमध्ये खर्च कटाएर करिब रु ६० हजार बचत हुने गरेको उनले सुनाए ।

“यसै व्यवसायबाट ११ जनाको परिवारको लालनपालन भइरहेको छ । स्थानीय तीन जनाले रोजगार पाएका छन् । परिवारको सम्पूर्ण खर्च र कामदारको तलब व्यवस्थापन गरेर पनि राम्रै कमाई भइरहेको छ”, ऐरले भने ।

उनले वर्षभरि अचारको कारोबार गर्दै आएका छन् । यहाँ उत्पादित अचार कैलालीका धनगढी, अत्तरिया, टीकापुर, कञ्चनपुरको महेन्द्रनगरलगायत स्थानमा बिक्री भइरहेका छन् । स्थानीय उत्पादनको उपयोग गर्दै कुनै मिसावटबिना अचार बनाउने भएकाले पनि धेरैको रोजाइमा पर्ने गरेको व्यवसायी ऐरको भनाइ छ ।