अस्पतालले मृत घोषणा गरेका व्यक्ति जीवितै भेटिएपछि…

विराटनगर । अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जीवितै रहेको पाइएको छ ।

विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा राखेर दाहसंस्कारका लागि पठाएका इनरुवा नगरपालिका–३ का ४५ वर्षीय प्रताप सदा मुसहरलाई घाटमा लैजान लाग्दा जीवित नै पाइएको हो ।

प्रतापका छिमेकी पहल कटुवालका अनुसार उनलाई शनिबार बिहान उपचारका क्रममा मेट्रो न्युरो अस्पताल भर्ना गरिएको थियो ।

स्थानीय बसचोकमा गाडी लोड अनलोडको काम गर्दै आएका सदा शनिबार गाडीमा सामान लोड गर्ने क्रममा लडेर बेहोस भएका थिए । उनलाई तत्काल इनरुवा अस्पताल लगिएको थियो । तर सो अस्पतालले तत्काललै बिराटनगरस्थित कोशी अस्पताललाई रिफर गरेको थियो ।

कोशी पुर्‍याएपछि चिकित्सकले सदाको टाउकोको तत्काल एमआरआई गर्नुपर्ने सुझाव दिएपछि उनलाई मेट्रो न्युरो अस्पतालमा भर्ना गरिएको श्रीमती सीता सदाले बताउँछीन्। शनिबार दिउसो मेट्रोमा भर्ना गरिएका सदाको उपचारका क्रममा राति मृत्यु भएको अस्पतालले घोषणा गरेको थियो ।
मृत घोषणा पछि अस्पतालले सदालाई शब गृहमा राखेको थियो । यता परिवारजनलाई उपचारका क्रममा ५० हजार रुपैयाँ खर्च भन्दै बील तिरेर शब लैजान निर्देशन दिएको थियो ।

त्यसपछि दाहासंस्कारका लागि उनीहरूको जातीय संस्कार र परम्परा अनुसार सबै तयार गरी मलामीसमेत जुटेर घाट लैजान लाग्दा उनी जीवित भएको पाइएको छ।

दाहसंस्कारपछि श्रीमतीले लगाउने कपडासमेत व्यवस्था गरिसकिएको थियो । सबै आफन्त छरछिमेक भेला भई स्थानीय सुनसरी खोलामा दाहसंस्कारका लागि लैजान लाग्दा केही व्यक्तिले सदा जीवित रहेको जस्तो देखेपछि उनलाई पानी र दुध खुवाएको स्थानीयले बताए ।

अस्पतालले मृत घोषणा गरेका व्यक्ति जीवित रहेको पाइएसँगै सदाको परिवार, आफन्त, छिमेकी र सामाजिक अगुवाहरू सो अस्पताल प्रशासनसँग आक्रोशित बनेका छन् ।

आक्रोसित स्थानीयले मेट्रो न्युरो अस्पतालले चरम लापरबाही गरेको भन्दै यस विषयमा स्थानीय प्रशासन र सुरक्षा निकाय गम्भीर बनी छानविन गर्नु पर्ने माग गरेका छन् ।