चिनियाँ रक्षामन्त्रीको अभिव्यक्ति उत्तेजक : ताइवान

एजेन्सी । चिनियाँ रक्षामन्त्री डोङ जुनले ‘उत्तेजक र आधारहीन’ अभिव्यक्ति दिएको भन्दै ताइवानले आपत्ति जनाएको छ ।

मुख्यभूमि मामिलासम्बन्धी ताइवानी परिषद्ले ताइवानका बारेमा चिनियाँ रक्षामन्त्रीले उत्तेजक र आधारहीन अभिव्यक्ति दिएको जनाएको हो । रक्षामन्त्री डोङ जुनले सिंगापुरमा आयोजित शाङ्ग्री-ला सुरक्षा वार्तामा ‘ताइवानलाई चीनबाट अलग गर्न चाहने जो कसैको पनि विनाश हुने’ अभिव्यक्ति दिएका थिए ।

भारतीय समाचार संस्था एएनआईका अनुसार चिनियाँ रक्षामन्त्रीको उक्त अभिव्यक्तिबाट राष्ट्रसंघको धारा २ को अनुच्छेद ४ उल्लङ्घन भएको परिषद्ले जनाएको छ । उक्त धारामा सदस्य राष्ट्रलाई शक्तिको प्रयोग गर्न वा धम्की दिन बन्देज लगाइएको छ ।

‘चिनियाँ कम्युनिष्ट पार्टीका अधिकारीले यस्तो किसिमको उत्तेजक र आधारहीन अभिव्यक्ति दिनु निकै दुर्भाग्यपूर्ण छ’, परिषद्ले भनेको छ । स्वायत्त शासन चलाउँदै आएको ताइवानलाई कम्युनिष्ट शासन रहेको चीनले आफ्नै मुलुकको एक हिस्सा मान्दै आएको छ ।