काठमाडौं। उद्योगहरुमा रोजगारी सिर्जना र सीपमुलक जनशक्ति उत्पादनको गर्नको लागि कार्यस्थलमा आधारित रोजगारमुलक तालिम दिइने भएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमन्त्री रमेश रिजालको उपस्थितिमा उद्योगहरुमा रोजगारी सिर्जना र सीपयुक्त जनशक्ति उत्पादनको लागि कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षणको लागि त्रिपक्षीय सम्झौता भएको हो। लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र, नेपाल उद्योग परिसंघ र ६ उद्योगहरुबीच रोजगारी सिर्जना र सीपयुक्त जनशक्ति उत्पादनका लागि त्रिपक्षीय सम्झौता भएको हो ।
सम्झौता पत्रमा केन्द्रका कार्यकारी निर्देशक दीपक घिमिरे, उद्योग परिसंघको तर्फबाट महानिर्देशक दीपक जोशी र उद्योगहरुको तर्फबाट सम्बन्धित प्रतिनिधिहरुले हस्ताक्षर गरेका हुन् । सम्झौतामा ६ उद्योगहरुले १ हजार ६६३ जना प्रशिक्षार्थी श्रमिक छनोट गरी प्रशिक्षण प्रदान गर्ने र रोजगारी दिने भएको छ ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सम्झौताबाट स्वदेशमा नै तालिम प्राप्त दक्ष जनशक्ति निर्माण हुने र देशभित्रै सीपयुक्त रोजगारीको अवसर प्राप्त हुने विश्वास व्यक्त गरे । उनले रोजगारीको लागि नेपाली युवा जनशक्ति विदेश पलायन हुनेक्रम बढिरहेको र मुलुकमा दक्ष जनशक्ति अभाव भएर उद्योगहरु सञ्चालनमा विदेशबाट जनशक्ति ल्याउनुपर्ने बाध्यता रहेको बताए । कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षणक कार्यक्रम अन्तर्गत ४ हजार दक्ष बनाएर रोजगारी सिर्जना लक्ष्य रहेको छ।