काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जानुअघि श्रमिकले लिनुपर्ने अभिमुखीकरण तालिम शुल्क बढाएको छ । सरकारले वैदेशिक रोजगारीमा जानुअघि श्रमिकले लिनुपर्ने अभिमुखीकरण तालिमको शुल्क चार गुणाले बढाएको हो ।
अभिमुखिकरणको शुल्क सात सय मात्रै तोकिएको भएपनि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि, २०७६ संशोधन (पहिलो) गरी अनलाइन परीक्षासमेत दिनुपर्ने व्यवस्था गरेर२ हजार ८ सय पुर्याएको हो ।
संशोधित कार्यविधिमा तालिम शुल्क २ हजार १ सय र परीक्षा शुल्क ७ सय तोकिएको छ ।
वैदेशिक रोजगारीमा जाने कामदारलाई अभिमुखीकरण तालिमअन्तर्गत गन्तव्य मुलुकमा जाँदा हवाई जहाजमा सिटबेल्ट बाँध्नेदेखि त्यहाँको भाषा, संस्कृति, रोजगारीको प्रक्रिया, सुरक्षा, प्रहरी नियम, मानसिक स्वास्थ्य समस्या हुँदा अपनाउनु पर्ने प्राथमिक उपचार र रोजगारदाताबाट कुनै समस्या भएमा अपनाउनुपर्ने कानुनी उपचारसम्म जानकारी दिइन्छ । अब भने अनलाइन परीक्षा पनि अनिवार्य गरेर कम्तीमा ५० अंक ल्याउनुपर्ने व्यवस्था गरेको छ ।
वैदेशिक रोजगार बोर्डबाट इजाजतप्राप्त अभिमुखीकरण तालिम केन्द्रहरूलाई नियमन नगरी तालिम शुल्क बनाएर श्रमिकमाथि थप शोषण गरेको आरोप सरोकारवालाहरूले लगाएका छन् ।