कुशे गाउँपालिकाकी १३ वर्षीया बालिकामाथि करणी, ७ लाख पाएपछि गुपचुप रह्यो काण्ड

बालिकालाई चन्दननाथ नपा–७ निवासी प्रेमजंग महतले एक महिनासम्म पटक पटक करणी गरे

जुम्लामा धर्मपुत्रीको रूपमा राखेकी १३ वर्षीया बालिकामाथि बलात्कार भएको छ । धर्मपुत्रीको रूपमा घरमा राखेका प्रेमराजा भनिने प्रेमजंग महतले बालिकालाई पटकपटक करणी गरेको घटना बाहिर आएको हो ।

जाजरकोट स्थायी घर भएर आमासँग जुम्ला सदरमुकाम खलंगा आएकी १३ नाबालिकामाथिमाथि चन्दननाथ नगरपालिका–७ निवासी महतले एक महिनासम्म पटकपटक करणी गरेका थिए ।

करणी गरेको बाहिर आएपछि घटना ७ लाखको लेनदेनमा मिलापत्र गरिएको छ । स्रोतका अनुसार सामुदायिक प्रहरी केन्द्रमा कार्यरत एक स्थानीय, एकजना अधिवक्ता, मानवअधिकार आयोगमा कार्यरत सुरक्षा गार्ड, होटल व्यवसायी एक महिलालगायतका व्यक्तिको रोहवरमा ७ लाखमा मिलापत्र गरिएको हो ।

मिलापत्रमा करणी सम्बन्धी कतै उल्लेख छैन । मिलापत्रमा बालिकालाई पठनपाठन सहयोगका लागि भनेर रकम दिइएको कागज बनाइएको छ । बालिकालाई महतले पढाइदिने र घरायसी कामका लागि छोरी (धर्मपुत्री) बनाएर राख्ने बालिकाकी आमासँग सहमति गरी घरमा लगिएको बुझिएको छ । आमाले दोस्रो बिहे गरेकाले उनी पनि जुम्ला आएकी थिइन् । उनकी आमाले पस चलाउँदै आएकी छन् ।

महतले करणी गरेको कुरा अरूसँग नभन्न र सबैका अगाडि ‘बाबा’ भन्ने राति आफूलाई श्रीमान् स्विकार्न दबाब दिने गरेको ती बालिकाले बताएकी छन् । महतले आफूलाई करणी गर्ने र अरूसँग भने मारिदिन्छु भन्ने धम्की दिन थालेपछि नाबालिकाले मुसा मार्न प्रयोग हुने विष पनि खाएको बुझिएका छ ।

विष खाएपछि बान्ता भएको र उनलाई तिनै महतले साबुनपानी खुवाएका थिए । त्यसको केही समयपछि महतले नै बालिकाकी आमालाई छोरी बिरामी भएको बताएका थिए । उनकी आमाले उपचारका लागि घरमा ल्याएकी थिइन् । आमा भन्छिन्, ‘छोरीले धेरै बान्ता गर्दा शंका लागी सोध्दा महतले करणी गर्ने गरेको र कुनै उपाय नदेखेर विष खान बाध्य भएको छोरीले बताई ।’

७ लाख लेनदेनमा मिलापत्र

बालिकामाथि करणी भएपछि प्रहरी र प्रशासनमा उजुरी परेको छैन । करणी गर्ने महतका दाजु सामुदायिक प्रहरी केन्द्रमा कार्यरत छन् । एकजना अधिवक्ता, मानवअधिकार आयोगमा कार्यरत सुरक्षा गार्ड, होटल व्यवसायी एक महिला लगायतका व्यक्तिको रोहवरमा ७ लाखमा मिलापत्र गरिएको छ ।

मिलापत्रमा करणी सम्बन्धी कतै उल्लेख छैन । मिलापत्रमा बालिकालाई पठनपाठन सहयोगका लागि भनेर रकम दिइएको कागज बनाइएको छ । १३ वर्षीया बालिका करण गर्ने महतबाट मिलापत्रका लागि ७ लाख रकम दिइएको एक कागज भेटिएको छ । मिलापत्र गरेको कागजातमा कालीबहादुर भण्डारी (वडा सदस्य) चन्दननाथ नपा ५, जीवन महत, चन्दननाथ–४ का नवराज भारती, तातोपानी गापा–८ का ईश्वरी आरसी, कागज बनाउन सहयोग गर्ने अधिवक्ता दिलबहादुर महत र चन्दनाथ–७ का महेन्द्रबहादुर महत छन् ।

पीडितका अनुसार जीवन महतले १५ हजार लिएको र अरू सबैले कुरा मिलाएको भन्दै १०/१० हजार लिएका हुन् । बाँकी ६ लाख रुपैयाँ पीडित बालिकाको जुम्लामा रहेको माछापुच्छ्रे बैंकको खातामा जम्मा गरिएको कागजातसमेत फेला परेको छ ।

पीडित बालिका चन्दननाथ नमुना माध्यमिक विद्यालयको कक्षा ४ मा पढ्थिन् । सोही विद्यालयकी शिक्षक बबी केसी भन्छिन्, ‘ती बालिका सुरुमा स्कुल आउँदा पढाइमा जागरुक थिइन् । केही समयपछि भने उनी विद्यालय आउँदा टोलाएर बस्ने गरेको देखेँ । मैले चासो दिएर सोधेँ । उनी बेस्सरी रुन थालिन् ।’

सोध्दै जाँदा बालिकाले आफूमाथि करणी भएको बताएकी केसीले बताइन् । घटनापछि विद्यालयमा अभिभावक भेला बोलाएर यो विषयमा छलफल भएको थियो । ‘बालिकाकी आमा समेत आइन् । उनलाई मैले नराम्ररी झपारे’, शिक्षक केसीले भनिन्, ‘बालिकाकी आमालाई कानुनी रूपमा जान सुझाएकी थिए । तर, उनी पैसामा मिलापत्र गरेको खबर सुन्न आएको छ ।’

यस बिषयमा जिल्ला प्रशासन कार्यालय जुल्लामा बुझ्न खाेज्दा सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी प्रमिला रिजालले खप्तड टिभीसंग भनिन्न् यस बिषयमा अनुसन्धान भइरहेकाे छ। आवश्‍यक छानबिन गरी कार्वाहीको प्रक्रिया अगाडी बढाउने उनले बताएकी छिन्।

यस्तै जिल्ला प्रहरी कार्यालय जुल्लामा बुझ्न खाेज्दा जिल्ला प्रहरी प्रमुख नरेन्द्र चन्दसंग टेलिफाेनमा कुरा गर्दा यस बिषयमा अनुसन्धान भइरहेकाे छ। आवश्‍यक छानबिन गरी कार्वाहीको प्रक्रिया अगाडी बढाउने उनले बताएका छन्।

के छ कानुनमा

२०७५ साल भदौ १ गतेदेखि भने मुलुकी अपराध संहिता र मुलुकी देवानी संहिता अलग–अलग कार्यान्वयनमा आएको छ र अलग प्रकृतिका कसुर यी कानुनले अलग–अलग हेर्ने गर्दछ। अपराध संहिताको परिच्छेद १८ मा करणी सम्बन्धी कसुर र त्यसको दण्ड व्यवस्थाबारे उल्लेख छ। जसको दफा २१९ मा जबरजस्ती करणी गर्न नहुने उल्लेख छ। त्यसरी कानुनले नगर्न भनिएको कुरा गरेमा कुन–कुन अवस्थामा के–कति दण्ड–सजाय हुने भन्ने प्रष्ट गरिएको छ।

दफा २१९ को उपदफा(२) मा कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती करणी गरेको मानिने छ। मुलुकी अपराध संहिता, २०७४ परिच्छेद– १८ करणी सम्बन्धी कसुर यस्तो व्यवस्था गरेको छ।