आजको मौसम : पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

आज बिहानसम्म देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। देशका तराईका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ।

आज दिउँसो कोशी गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शुक्रबार देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना समेत रहेको महाशाखाले जानकारी दिएको छ। अहिले बिहान देशको पहाडी भू-भागमा आंशिक बदलीकै अवस्था छ। बाँकी भू-भागमा मुख्यतया सफा रहेकोछ ।