काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा नभएको बताएका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घको २५औँ साधारणसभालाई हेटौँडामा सम्बोधन गर्दै उनले पछिल्लो समय अर्थतन्त्रको सूचकाङ्कमा सुधार आएको बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले आगामी नीति कार्यक्रम र बजेटमा सबै क्षेत्रलाई समेट्ने गरी बजेट ल्याउने तयारीसमेत भइरहेको बताए ।
प्रधानमन्त्री प्रचण्डले निर्माण व्यवसायीले सम्झौता बमोजिमको काम नगर्दा योजनाका काम समयमै सम्पन्न नभएको भन्दै राज्यको सीमा र कमजोरीका कारण व्यवसायीले भोग्नुपरेका अप्ठ्यारा तथा कठिनाइप्रति सरकार गम्भीर रहेको बताए ।
राज्यका रणनीतिक महत्वका आयोजना ओझेलमा पर्ने, अनावश्यक योजना थपिँदै जाने, राज्यको दायित्व बढ्दै जाने र खास गुणात्मक प्रतिफल नदिने, बेथितिको दुष्चक्रबाट मुक्त हुने गरी काम गर्न आफूले अर्थमन्त्रालय, राष्ट्रिय योजना आयोग र सम्बन्धित मन्त्रालयलाई निर्देशित गरिसकेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले अब देशमा विकासको कामले गति लिने समेत बताए ।