प्रधानमन्त्री केपी शर्मा ओलीले लामखुट्टेको प्रजननस्थल नष्ट गर्ने अभियान देशभर सञ्चालन गर्न आह्वान गरेका छन् । आज एक सन्देश जारी गर्दै उनले लामखुट्टेको प्रजननस्थल नष्ट गर्ने अभियानलाई कम्तीमा हप्ताको एक पटक सञ्चालन गर्न आह्वान गरेका हुन् ।
‘डेंगु सार्ने लामखुट्टेको नियन्त्रणका लागि सबैभन्दा बढी प्रभावकारी मानिएको लामखुट्टेको प्रजननस्थल जस्तै पानी जम्ने ठाउँ खोजी लामखुट्टेका लार्भा, प्युपा नष्ट गर्ने कार्यलाई कम्तीमा हप्ताको एकपटक शुक्रबार १० बजेर १० मिनेट देशव्यापी अभियानका रुपमा सञ्चालन गर्न म सरोकारवाला निकाय, निजामती कर्मचारी, सुरक्षा निकाय, सामाजिक अभियान्ताहरूका साथै सम्पूर्ण आमनागरिक समेतको सहभागिताका लागि हार्दिक अपिल गर्दछु’, उनले भने ।
नेपालका केही जिल्लामा हालसम्म पनि डेंगु रोगको प्रकोप कायमै रहेको र यसले जनस्वास्थ्यका क्षेत्रमा गम्भीर चुनौती सिर्जना गरेको उनको भनाइ छ ।































