काठमाडौँ, ९ कात्तिक: विराटनगर महानगरपालिकाले अटिज्म भएका बालबालिकाहरूको निःशुल्क उपचारका लागि ‘महानगर अटिज्म सेवा केन्द्र’ सञ्चालनमा ल्याएको छ । सो केन्द्र विराटनगर–४ दूधफारम दक्षिणमा अवस्थित छ ।
करुणा फाउण्डेशनको प्राविधिक सहयोगमा सञ्चालनमा ल्याइएको ‘महानगर अटिज्म सेवा केन्द्र’ का लागि छिट्टै नै भवन निर्माण गर्ने योजना रहेको विराटनगर महानगरपालिकाले जनाएको छ ।
अटिज्म सेवा केन्द्र सञ्चालनका लागि महानगरले चालु आर्थिक वर्षको बजेटमा रु एक करोड विनियोजन गरेको थियो । विनियोजित रकममध्येबाटै रु ३० लाख लागतमा महानगर अटिज्म सेवा केन्द्र सञ्चालनमा ल्याइएको स्वास्थ्य महाशाखा प्रमुख डा दिलीप यादवले जानकारी दिनुभयो ।
यादवका अनुसार केन्द्र बिहान ९ देखि ३ बजेसम्म सञ्चालन हुनेछ । हाल केन्द्रमा पाँच बालिकासहित २५ जनाले सेवा लिइरहेका छन् । महानगरको तथ्याङ्कअनुसार विराटनगर क्षेत्रभित्र ५१ जना अटिज्म भएका बालबालिका छन् ।
महानगरले सञ्चालनमा ल्याएको केन्द्रमा फिजियोथेरापी, स्पीज थेरापी (बोल्न सिकाउने), बालबालिका र अभिभावकलाई मनोचिकित्सक सेवा प्रदान गरिनेछ ।
केन्द्रभित्र ट्रेम्पोलिन, चिप्लेटी, चाकाचुली, पुल बल, रकिङ हर्स, घुम्ने पिङ, टेबल टेनिससहित आवश्यकताअनुसारका विभित्र खेलौनाको व्यवस्था गरिएको छ । केन्द्रमा भर्ना भएका बालबालिकाको उपचारसहित अध्ययनसमेत गराइने महानगरले जनाएको छ ।































