काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले मुलुकमा आर्थिक समृद्धि ल्याएरै छोड्ने बताउनुभएको छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठानमा आज आयोजित ‘सिस्नोपानी देउसी कार्यक्रम–२०८१’लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार देशको विकास र आर्थिक समृद्धिको दिशामा अगाडि बढिरहेको बताउनुभयो ।
सरकारले देशको राष्ट्रियतालाई डगमगाउन नदिने प्रधानमन्त्री ओलीको भनाइ थियो । “सरकारले यो देशको राष्ट्रियता डगमगाउन दिँदैन, राष्ट्रिय स्वाभिमानलाई कायम राख्दै जनअपेक्षाअनुरुप कामलाई तीव्रताका साथ अगाडि बढाउछ”, उहाँले भन्नुभयो । पार्टीको केन्द्रीय कार्यालय निर्माणमा व्यवसायी मीनबहादुर गुरुङको सहयोगको सन्दर्भमा प्रधानमन्त्री ओलीले सहयोग गरेको विषयलाई अनावश्यक नउचाल्न पनि आग्रह गर्नुभयो ।
सो अवसरमा प्रधानमन्त्री ओलीले सबै नेपाली नागरिकमा शुभ दीपावलीको हार्दिक शुभकामना पनि व्यक्त गर्नुभयो ।
सिस्नोपानी नेपालले समसामयिक विषयवस्तुमा व्यङ्ग्यात्मक प्रहार गर्दै देउसी कार्यक्रम आयोजना गर्ने गरेको छ । सो अवसरमा हास्यकलाकार मनोज गजुरेललगायतको समूहले विशेष प्रस्तुति प्रस्तुत गरेको थियो ।
































