ताप्लेजुङ – ताप्लेजुङको धार्मिकस्थल पाथीभरामा पछिल्लो सात वर्षमा १३ लाखभन्दा बढी दर्शनार्थीले पूजापाठ गरेको छन् । विभिन्न क्षेत्रबाट सात वर्षको समय अवधिमा १३ लाख तीन हजार ९२ जना दर्शनार्थीले पूजापाठ गरेका छन् ।
पाथीभरा क्षेत्र विकास समितिले आर्थिक वर्ष २०७४/७५ देखि २०८०/८१ सम्मको तथ्याङ्क १३ लाख तीन हजार चार सय ९२ जनाले पाथीभरामा पुगेर पूजापाठ गरेको समितिले सार्वजनिक सूचानामा उल्लेख गरको छ । क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार सात वर्षको अवधिमा कूल १३ लाख तीन हजार चार सय ९२ जना दर्शनार्थीले पाथीभरा मन्दिरको दर्शन गरेका छन् । यो तथ्याङ्क चालू आर्थिक वर्ष २०८१/८२ को समावेश नगरी तयार गरिएको हो ।
पाथीभरा मन्दिर धार्मिक आस्थाको प्रतीक मात्र होइन, प्राकृतिक सौन्दर्य र साहसिक यात्राको केन्द्र हो । प्रत्येक वर्ष लाखौँ श्रद्धालु यहाँ पूजाआजा गर्न आउने गरेकाले यस क्षेत्रले स्थानीय पर्यटन र अर्थतन्त्रलाई उकास्न महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ । सुविधा थप व्यवस्थित र प्रचारप्रसार व्यापक बनाउने हो भने पाथीभरा धार्मिक मात्र नभई विश्व पर्यटनको महत्त्वपूर्ण गन्तव्य बन्न सक्ने सम्भावना छ ।































