भ्रष्टाचार विकासको मुख्य बाधक : शेखर कोइराला

महोत्तरी – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले खस्कँदो शिक्षा र सबैतिर व्याप्त भ्रष्टाचार मुलुकको विकासका लागि मुख्य बाधक रहेको बताएका छन् । आज महोत्तरीको भटौलियामा नेपाली कांग्रेस महोत्तरी–३ प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको उद्घाटन गर्दै उनले त्यसैकारण अबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्ने बताए ।

युवा पुस्तालाई शिक्षा र रोजगारीका लागि मुलुकमै रहनसक्ने वातावरण नबनाएसम्म मुलुकले अग्रगति लिन नसक्ने धारणा राख्दै नेता डा कोइरालाले त्यसका लागि गुणस्तरीय प्राविधिक शिक्षा र उत्पादनमूलक काममा लगानीको आवश्यकता औँल्याउनुभयो । त्यसका लागि कृषि उपयुक्त अवसर भएको उनको भनाइ थियो ।

“हाम्रो सम्भावनाको क्षेत्र कृषि नै हो । मधेशकै कुरा गर्दा पनि यसलाई अन्नको भण्डार मानिँदै आइएको छ । कृषिलाई आधुनिकीकरण गर्न ठोस पहलकदमी नहुँदा लाभ लिन सकिएको छैन । अब कांग्रेस नेतृत्वमा बहुमतको सरकार बने मात्रै यी समस्या निदानका लागि काम गर्न सकिन्छ । यसका लागि सबैले प्रयास गरौँ”, डा कोइरालाले भने ।