देउखुरी (दाङ) – घोराही उपमहानगरपालिका–६ बचाहाका बालकृष्ण खनालले व्यावसायिक बाख्रापालनबाट वार्षिक रु पाँच लाख ५० हजार आम्दानी गर्दै आएका छन्। उनले प्रकृति बाख्रा फार्म दर्ता गरेर व्यावसायिक रूपमा बाख्रापालन गर्दै आएका हुन्।
घरमा आमाले घरखर्चका लागि पालेको पाँच वटा बाख्रालाई बढाउँदै अहिले ७० पुर्याएको खनालले बताए। उनका अनुसार अहिले खोरमा ५० माउ र २० वटा खसी छन्।“राम्रै छ बजार, दुईटा बोका बेच्यो कि तीस हजार, चिन्ता छैन क्यै। मलाई अमेरिका यै, मलाई जापान पनि यै, मलाई अष्ट्रेलिया यै” भन्ने लोकगायक पशुपति शर्माको यो मेरो जीवनसँग ठ्याक्कै मिलेको छ”, खनालले भने। अहिले जाडो मौसममा दिउँसोको पारिलो घाममा बाख्राले आनन्द लिने भएकाले खोर बाहिर राख्ने गरेको उनले बताए।खनालले बाख्राका लागि दिउँसो र रातमा बस्ने व्यवस्थित खोर बनाएका छन्। “अहिले सोचेजति नाफा नभए पनि लगानी भने उठिरहेको छ, वार्षिक रु पाँच लाख ५० हजारसम्म आम्दानी हुन्छ। घरखर्च यसैबाट चलेको छ, बचत भने खासै भएको छैन”, उनले भने, “युवाले स्वदेशमा नै निरन्तर मेहनत गर्ने हो भने सफलता अवश्य हात लाग्छ।”
खनालले बाख्रालाई खुवाउन १२ कठ्ठामा वर्षिम, पाँच कठ्ठामा जौँ र १० कठ्ठा जमिनमा नेपियर घाँसखेती गरेका छन्। उनले एकजना सहयोगी पनि राख्नुभएको छ। एक सय वटा माउ बाख्रा पाल्ने र एक वर्षमा एक सय खसी उत्पादन गर्ने लक्ष्य रहेको उनले बताए।
आम्दानी बढ्दा लगानी पनि बढाउन मन लाग्ने भन्दै उनले स्थानीय निकायले आर्थिक तथा प्राविधिक सहयोग गरी युवालाई स्वरोजगारका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो। स्वदेशमै केही गर्न चाहेने किसानले उत्पादन गरेका वस्तुलाई सरकारले अनुदानका कार्यक्रममा जोेडेर सहयोग गरेमा काम गर्न अझै हौसला मिल्ने उनको भनाइ छ।
































