काठमाडौँ – सशस्त्र प्रहरीका चार जना नायब महानिरीक्षक (डीआईजी) हरूको पदावधि एक वर्ष थप भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आजै राति १२ बजेबाट लागु हुनेगरी सशस्त्रका चार डीआईजीहरूको पदावधि थप गरेको हो ।
गृह मन्त्रालयको प्रस्तावमा चारै जना प्रहरी नायब महानिरीक्षकको पदावधि एक वर्ष थप गर्न मन्त्रिपरिषद्ले निर्णय गरेको हो । सशस्त्र प्रहरी नियमावली २०७२ को दफा ६५ को ९ग० मा सशस्त्रका प्रहरी महानिरीक्षकको पदावधि चार वर्षको हुने व्यवस्था छ ।
नियमावलीको दफा ६५ कै (ग) को (२) उपनियममा सशस्त्र प्रहरी महानिरीक्षक (आइजी) को सिफारिसमा नेपाल सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र प्रहरी नायब महानिरीक्षक (डिआइजी)को पदावधि चार वर्षपछि एक वर्ष थप गर्न सक्ने उल्लेख छ । यसै व्यवस्था अनुसार आजको मन्त्रिपरिषद् बैठकले चारै जना प्रहरी नायब महानिरीक्षकहरूको पदावधि एक वर्ष थप गरेको हो ।
































