माघ महिनासम्म भित्रियो ९ खर्ब रेमिट्यान्स

चालु आर्थिक वर्षको सात महिनामा विप्रेषण अर्थात् रेमिट्यान ७.३ प्रतिशतले बढेर साढे ९ खर्ब पुगेको छ ।
चालु आर्थिक वर्षको माघ महिनासम्म विप्रेषण आप्रवाह ७.३ प्रतिशतले बढेर ९ खर्ब ५८ करोड रूपैयाँ पुगेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको हो ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको माघ महिनासम्मको तथ्यांक अनुसार अमेरिकी डलरमा रेमिट्यान्स ५.३ प्रतिशतले बढेर ६ अर्ब ६५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो रेमिट्यान्स १६.४ प्रतिशतले बढेको थियो ।
चालु आर्थिक वर्षको सात महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ७४ हजार ६२२ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ९० हजार ८८६ पुगेको छ ।