शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शान्तिपूर्ण रुपमा स्ववियु निर्वाचन गराउन अनुरोध गरेको छ

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निष्पक्ष एवम् तटस्थ र शान्तिपूर्ण रुपमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गराउन अनुरोध गरेको छ ।

मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले आज विज्ञप्ति जारी गर्दै त्रिभुनव विश्वविद्यालय (त्रिवि) को यही चैत ५ गते हुन गइरहेको स्ववियु निर्वाचन शान्तिपूर्ण रुपमा गराउन र निर्धारित निर्वाचन आचारसहिंताको पालना गर्न सबै विद्यार्थी सङ्गठनलाई अनुरोध गरेका हुन् ।

मन्त्रालयले स्ववियु निर्वाचनको पूर्वसन्ध्यामा विश्वविद्यालय तथा क्याम्पसका सार्वजनिक संरचना तोडफोड भएकाप्रति ध्यानाकर्षण भएको जनाउँदै निर्वाचन समितिका पदाधिकारी तथा अन्य पदाधिकारीलाई विभिन्न किसिमका धम्की आइरहेको भन्ने समाचारबारे ध्यानाकर्षण भएको जनाएको छ ।