२५ करोड १ लाख ६० हजार बराबरका डलर र युरो लुकाएको अवस्थामा भेटिएको छ

काठमाडौँ । आफ्नै नाममा रहेको मालवाहक ट्रकको चालक हुन्, ४३ वर्षका कुसाङ लामा ‘फुच्चे’ । रसुवाको केरुङबाट सामान ढुवानी गर्ने उनी सामान्य चालक मात्र नभएर ना.७ ख १६५२ नम्बरको ट्रकको साहु हुन् ।

लाखौँ लागत पर्ने ट्रकका धनी फुच्चे सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका वडा नम्बर–१ का स्थानीय हुन् । ट्रक उनकै नाममा दर्ता रहेको भेटिए

करोडौँ रकम बोकेर हिँड्ने र आफ्नै ट्रक भएका फुच्चेको काठमाडौँमा घर चाहिँ छैन । उनले गोकर्णमा डेरा लिएका छन् । मासिक १२ हजार तिर्ने गरी उनी डेरामा बस्ने गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् । एक जना अधिकृतले भने– ‘गोकर्णमा १२ हजार भाडा तिर्ने गरी डेरामा बस्ने गरेको देखिन्छ ।’

फुच्चेले डलर र युरो आफ्नो नभएको प्रहरीलाई बताएका छन् । सामाखुसीबाट चिनियाँले दिएको रकम बोकेर आफू रसुवातर्फ लागेको उनले जिकिर गरेका छन् । अनुसन्धानमा संलग्न प्रहरीलाई उनले भनेका छन्– ‘सामाखुसीमा चिनियाँले रकम दिएका हुन्, केरुङमा चीनतर्फ जाने कार्ड भएको मानिस आउँछ उसैलाई रकम दिनु भनेका थिए ।’  फल्स बटन गाडीमा पहिले नै भएको फुच्चेको जिकिर छ ।

प्रहरीले बरामद गरेको ट्रकमा ‘सोनी ट्रान्सपोर्ट’ लेखिएको छ । कुसाङ यसअघि पनि सुन तस्करी गरेको आरोपमा पक्राउ परेका थिए ।

२०७३ पुस १३ मा अपराध महाशाखा (हाल उपत्यका अपराध अनुसन्धान कार्यालय) ले उनलाई पक्राउ गरेको थियो । ५ वर्ष जेल बसेर लामा २०७८ मा रिहा भएका हुन् । त्यसबेला उनी ७ केजी सुनसहित पक्राउ परेको एसएसपी बस्नेतले बताए ।

जेलबाट छुटेपछि लामाले फेरि सुन तस्करी सुरु गरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । सुन तस्करीमा उनले भरिया र चालकको रूपमा काम गर्ने गरेको पाइएको छ । ‘फुच्चे’ लाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान विभागमा पठाइएको एसएसपी बस्नेतले जानकारी दिए ।