सिमकोटमा शिव मन्दिर दर्शनार्थीको घुइँचो

सिमकोट – खार्पुनाथ शिवालय क्षेत्रको शिव मन्दिरमा दर्शनार्थीको संख्या पछिल्ला दिनमा बढेको छ। मन्दिर परिसरमा शिवको मन्दिर राखिनु र अन्य भौतिक संरचना निर्माण कार्यले मन्दिर आउने दर्शनार्थी आकर्षित भएका हुन्।

शिव मन्दिरका पुजारी शिव उपाध्यायले शिव मन्दिरको दर्शन गर्न आउने भक्तजनको संख्या दैनिक बढ्दै गएको बताए। पहिलो पूर्णिमा, माघे संक्रान्ति र शिवरात्रिमा मात्र आउने भक्तजन अहिले दैनिक आएर मन्दिरमा पूजाआजा गर्न थालेका छन्।

यो शिवालय क्षेत्र महाभारतकालीन धार्मिक र ऐतिहासिक महत्वसँग जोडिएका कारण पनि दैनिक बिहान पूजा गर्ने भक्तजनको घुइँचो बढेको हो। अझ मंगलबार र पूजाको दिनमा बढी भक्तजनको घुइँचो लाग्ने गर्छ। मन्दिरभित्र गुफा पनि रहेको छ।

शिवालय क्षेत्रमा प्रवेश गर्ने दुवैतर्फ रेलिङसहितको ढलान गरिएको सडक, प्रबेशद्वार, सोह्र फिट अग्लो शिवको मूर्ति, कम्पाउण्ड, ढुंगा कुँदेर निर्माण गरिएको साँढे, दश फिट अग्लो त्रिशूल शिवालय क्षेत्रमा निर्माण गरिएका संरचना हुन्।

त्यसैगरी कर्णाली नदी किसारमा ग्याविन वाल, शौचालय, टापुमा जाने झोलुङ्गे पुल, मसान घाट, पनि निर्माण गरिएको छ।