झापामा व्यावसायिक केराखेती

झापा– मेचीनगर नगरपालिका-८ का पर्शुराम गिरीले दुई वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका छन् । करिब १० कट्ठा जमिनमा खेती सुरु गरेका उनले एक याममा तीन लाख रुपैयाँ आम्दानी गरिरहेका छन् ।

वैदेशिक रोजगारीमा १७ वर्ष बसेर स्वदेश फर्केपछि गिरीले व्यावसायिक केराखेती सुरु गरेका हुन् । खेतीबाट मनग्य आम्दानी हुन थालेपछि खेतीको क्षेत्रफल विस्तार गरी १५ कठ्ठा बनाएको उनले उल्लेख गरे । आगामी दिनमा थप खेती विस्तार गर्ने योजनासहित पाँच बिघा जमिन खोजी गरिरहेको उनले बताए ।

गिरीले ‘जि-नाइन’ जातको केराका छ सय बोट लगाएको जानकारी दिँदै यो केराको कोसा पोटिलो, ठूलो र पाकेपछि अरूभन्दा स्वादिलो हुने बताए ।

‘रुखोपाखो जग्गा भएकाले धान रोप्दा १० हजार रुपैयाँ नाफा हुँदैनथ्यो’, उनले भने, ‘अहिले केरा बेचेर एक याममा रु तीन लाख आम्दानी भइरहेको छ ।’ खनजोत, मल, रोग, कीराको नियन्त्रणलगायतमा करिब रु एक लाख खर्च हुने जनाउँदै उनले हरेक याममा दुई लाख बचत गरिरहेको उल्लेख गरे ।

मेचीनगर, अर्जुनधारा, गौरीगञ्ज, कचनकबल, गौरादह, बाह्रदशी, कमल र भद्रपुरमा एक हजार ९०० हेक्टर क्षेत्रफलमा व्यावसायिक केराखेती भइरहेको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ । सामान्यतः केराको बोट नौ महिनामा पसाउने र एक वर्षभित्रै उत्पादन दिने गरेको छ ।

 

झापाका किसानले चिनीचम्पा, मालबोक, जि-नाइन र इजरायली प्रजातिका केराखेती गर्दै आएका कृषि ज्ञान केन्द्रले जनाएको छ ।