धरान (सुनसरी) – इटहरी उपमहानगरपालिका–६ का सरोज गौतमले ११ वर्षदेखि उखुको जुस बनाउने व्यापार गर्दै आएका छन्। उनको गर्मी मौसममा मासिक रु ९० हजारसम्म आम्दानी हुने गर्छ।
बढिरहेको चर्को गर्मी अनि सडक छेउमा राखिएको उखु जुसको कक्ष (स्टल) त्यस स्टलभित्र राखिएको प्रेस उपकरण, त्यही उपकरणले पेलेर दिएको मिठो जुस यात्रीका लागि शीतलता दिनुका साथै व्यापारीको आम्दानी पनि बढाएको छ।
गौतम सात वर्ष मलेसियामा सुरक्षा गार्डका रूपमा काम गरेर स्वदेश फर्केपछि इटहरी घर नजिकै एउटा गल्लीमा उखुको जुस बनाउने व्यापार सुरु गरे। उनले ११ वर्षदेखि यही पेसा गर्दै आएको भन्दै गर्मी समयमा मासिक रु ९० हजारसम्म आम्दानी हुने जानकारी दिए। उहाँका अनुसार सबै खर्च कटाएर मासिक रु ४० हजार बचत हुने गरेको छ।
गौतमले भने, “उखुको जुस बेचेर छोराछोरी पढाउनुका साथै सबै घरखर्च पुगेको छ। विदेशमा तातो घाममा दुःख गर्नुभन्दा स्वदेशमै सानै भए पनि आफ्नो व्यवसाय सञ्चालन गर्नु उपयुक्त हुन्छ।”
सुरुमा टेम्पो चलाए पनि आम्दानी नभएपछि रु ७० हजारमा जुस बनाउने उपकरण किनेर व्यवसाय सुरु गरेको उनको भनाइ छ। “जुस बनाउने उखु सहजै उपलब्ध हुन्छ, समस्या छैन। आफैँले बराहक्षेत्रमा करिब एक बिघा जग्गा भाडामा लिएर उखुखेती गरेको छु। अपुग भएमा अन्य किसानसँग किन्ने गर्दछु”, उनले भने।
उखुको जुस स्वादका लागि मात्र नभएर स्वास्थ्यका लागि पनि उपयुक्त हुने इटहरीका अस्मिता श्रेष्ठले बताए। “गर्मीमा बाहिर पसलमा राखिएका तयारी जुस पिउनुभन्दा यहाँको ताजा र स्वादिलो जुस पिउँदा स्वास्थ्यका लागि पनि लाभदायी हुन्छ”, उनले भने।
गर्मीको समय सुरु भएसँगै धरान, इटहरीलगायत बजार क्षेत्रमा उखुको जुस बिक्री गर्ने सयौँ व्यवसायी छन्। कम लगानीमा मनग्ये आम्दानी हुने भएकाले यो व्यवसायप्रति धेरैको आकर्षण बढ्दै गएको हो।