काभ्रेपलाञ्चोक । यहाँस्थित अवैध रूपमा सञ्चालित सातवटा खानी तथा क्रसर उद्योग बन्द गराइएको छ । दुई स्थानीय तहले आफ्नो क्षेत्रमा अवैध रूपमा सञ्चालित खानी तथा क्रसरको अनुगमन गरी बन्द गराएका हुन् ।
बेथानचोक गाउँपालिकाले अनुगमनपश्चात् एक सूचनामार्फत वडा नं ४ र ५ का विभिन्न स्थानमा अवैध रूपमा सञ्चालनमा रहेका चार खानी तथा क्रसर उद्योगलाई बन्द गर्न निर्देशन दिँदै कारबाही प्रक्रियासमेत अघि बढाएको जनाएको छ ।
शुक्रबार गाउँपालिकाका उपाध्यक्ष तारा राना तिमिल्सिना नेतृत्वको अध्यया समितिले बेथानचोक–५ स्थित चण्डेश्वरी बालुवा उद्योग, लड्केश्वर ढुङ्गा तथा स्टोन उद्योग, खाल्टे स्टोन ढुङ्गा खानी र वडा नं ४ स्थित आरएस चलाल इन्डस्ट्रिज प्रालि बन्द गराउन निर्देशन दिएको हो ।
जिल्ला प्रशासन कार्यालयको निर्देशन अनुसार उक्त गाउँपालिकाका प्रतिनिधिसहित समितिले स्थलगत निरीक्षण गरी यही बुधबार बन्दको सिफारिस गरेपछि ती खानी तथा उद्योगलाई बन्द गर्न निर्देशन दिइएको तिमिल्सिनाले जानकारी दिइन् ।
यसअघि गत फागुन अन्तिम साता पनौती नगरपालिकाले आफ्नो क्षेत्रमा सञ्चालित तीन खानी तथा क्रसर उद्योग बन्द गराएको थियो । नगरको वडा नं २ र १२ मा मापदण्ड विपरीत नवीकरण नगरी सञ्चालन भएका तीन खानी तथा क्रसर उद्योग बन्द गराइएको थियो ।
वडा नं २ स्थित डाइमण्ड स्टोन माइनिङ प्रालि, १२ नं वडाको भालेश्वर रोडा ढुङ्गा उद्योग प्रालि र दीपलक्ष्मी एग्रिगेट एन्ड माइनिङ प्रालिलाई अर्को आदेश नभएसम्मका बन्द गरिएको थियो । नगरले खानी तथा भूगर्भ विभागबाट जारी उत्खनन अवधि समाप्त भइसकेको र पटकपटक ताकेता गर्दासमेत बिनाइजाजत सञ्चालन गरेको देखिएकाले अर्को निर्णय र आदेश नभएसम्मका लागि ती उद्योग बन्द गराएको जनाएको छ ।
विशेषगरी बाढी प्रभावित रहेका स्थानीय तह पनौती, रोशी, बेथानचोक र नमोबुद्धमा बढी क्रसर तथा खानी छन् । विपद्अघि जिल्लाका १३ स्थानीय तहमध्ये पनौतीमा १४, रोशीमा पाँच, नमोबुद्ध र भुम्लुमा चार, बेथानचोकमा तीन, मण्डनमा दुई, बनेपा, तेमाल र चौरीमा एकरएक खानी तथा क्रसर सञ्चालनमा छन् ।