खुम्बु क्षेत्रमा हिमपात

सोलुखुम्बु – उच्च हिमाली क्षेत्र खुम्बुमा आइतबारदेखि लगातार भारी हिमपात भइरहेको छ । हिमपातका कारण पर्यटक र स्थानीयवासी प्रभावित भएका छन् ।

खुम्बु क्षेत्रमा रहनुभएका ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान)का वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पाका अनुसार हिमपातका कारण पदमार्ग अवरुद्ध हुँदा गोक्यो क्षेत्रमा पर्यटक समस्यामा परेका छन् ।

उनले भने , “हिउँले बाटो पुरिएको छ, कतिपय पर्यटक समस्यामा परेका छन्, तर सङ्ख्या यकिन भइसकेको छैन ।”

हिमपातका कारण सगरमाथा आरोहण पनि प्रभावित भएको छ । अधिकांश आरोहीहरु आधार शिविरमै रोकिएका छन् । प्रशासन र सम्बन्धित निकायले प्रभावित क्षेत्रका पर्यटक तथा स्थानीयको सुरक्षालाई प्राथमिकतामा राखेर उद्धार र व्यवस्थापनका लागि समन्वय गरिरहेको जनाएको छ ।