अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको आउजाउ बढेको छ । गत अप्रिलमा मात्र ४४ हजार सात सय ६३ विदेशी पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले जनाएको छ ।
जुन गत वर्ष सोही महिनाको तुलनामा १० हजार आठ सय ५२ ले बढी हो । सन् २०२४ को अप्रिलमा ३३ हजार नौ सय ११ जना पर्यटकले उक्त क्षेत्रमा भित्रिएका थिए । ‘एक्याप’ को आँकडाअनुसार पछिल्ला वर्षमा पर्यटन आगमन दर वृद्धि भइरहेको छ ।
कोभिड–१९ महामारीका बेला थलिएको यस क्षेत्रको पर्यटन पुनः पुरानै लयमा फर्किएको ‘एक्याप’ का प्रमुख डा रविन कडरियाले बताउनुभयो । मार्चदेखि मे महिनासम्म धार्मिक भ्रमणदेखि पदयात्राका लागि उल्लेख्य मात्रामा पर्यटक यस क्षेत्रमा आउने गरेको उहाँको भनाइ छ । गत मार्चमा ३६ हजार आठ सय ३४ पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए ।
त्यसअघि फेब्रुअरीमा १२ हजार ६८ र जनवरीमा नौ हजार तीन सय ५९ पर्यटक मात्र उक्त क्षेत्रमा आएका थिए । सन् २०२५ लागेयता अघिल्ला वर्षहरूको तुलनामा पर्यटक आगमन दर बढेको प्रमुख डा कडरियाले बताउनुभयो । सन् २०२४ को पहिलो चार महिनामा ७८ हजार नौ सय ६८ पर्यटक भित्रिएकामा यो वर्षको पहिलो चार महिनामा एक लाख तीन हजार २४ पर्यटक आएका हुन् ।
सात हजार छ सय वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा पर्छन् । अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सम्भयता, संस्कृति आदि कारणले आन्तरिक तथा बाह्यक पर्यटकको रोजाइमा पर्ने गरेको छ ।
हिमशृङ्खलासहितका आकर्षक गन्तव्यस्थल, पर्यटनमैत्री पूर्वाधार, हावापानी, स्थानीयवासीको आतिथ्यता र सेवा सुविधाका हिसाबले अन्नपूर्ण चक्रीय पदमार्ग घुमफिरका लागि विश्वकै उत्कृष्ट गन्तव्यका रूपमा चिनिएको छ । कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायतका मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दुरीको पदयात्रा गर्न सकिन्छ ।
































