बनेपामा आजदेखि चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोक – बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु भएको छ । करिब दुई हजार ५०० वर्षअघिदेखि मनाइँदै आइएको चण्डेश्वरी जात्रा विशेषगरी स्थानीय नेवार समुदायले मनाउने गर्दछन् ।

बर्सेनि चण्डी (वैशाख शुक्ल)पूर्णिमादेखि तीन दिन मनाइने जात्राका लागि यहाँका बासिन्दाले बनेपा सहरको उत्तरपूर्वी क्षेत्रमा अवस्थित चण्डेश्वरी मन्दिर र परिसर बेहुलीझैँ सिङ्गारिएको छ । जात्राको पहिलो दिन आज बिहानदेखि प्रत्येक घरघरबाट मन्दिरमा पूजाआराधाना गरी औपचारिक रुपमा जात्राको सुरु भएको हो भने आजैदेखि घरघरमा भोज पनि सुरु गरिएको छ ।

यस्तै आजै राति हनुमान ढोकाबाट ल्याइने तरवार (खड्ग)सँगै चण्डेश्वरी मन्दिरभित्र रहेका पिगं देवताहरुलाई १२ वटा बोका बलि दिई ‘सरकारी पूजा’ गरिने र मत पूजा (चिराग यात्रा)गरिने स्थानीय मनिष भोछिभोयाले बताए ।

उनले अनुसार भोलि बनेपाको तीनधारामा बनाइएको पाङ्ग्रा नभएको खटलाई भेडा बलि दिइएपछि देवता नभएको खाली रथ (खट)लाई स्थानीय युवाहरुले विभिन्न बाजागाजासहित बोकेर ‘ल्हाका पालुं हाः’ भन्दै चण्डेश्वरी मन्दिर पु¥याउने प्रचलन छ । भोलिपल्ट तुलसीको काठद्वारा निर्मित रथमा देवी चण्डेश्वरीलाई रथारोहण गराई देवगृहबाट परिक्रमाका लागि निकाल्ने चलन छ ।

 

धार्मिक कथन एवं किंवदन्तीअनुसार करिब २५ सय वर्षअगाडि लामो समयसम्म तपस्या गरेपछि कुनै पनि पुरुषले आफूलाई मार्न नसक्ने वरदान पाएका दैत्यराज चण्डासुरलाई भगवतीका रुपमा प्रकट भई चण्डासुरको वध गरेर देवताको रक्षा गरेको खुसियालीमा आराध्यदेवी चण्डेवरी माईको जात्रा मनाइँदै आइएको हो ।

चण्डेश्वरी जात्राको महत्व ठूलो भएको जनाउँदै बनेपा र आसपासमा रहेका सङ्घ–संस्था तथा विद्यालय जात्रा अवधिभर बन्द गरिएका छन् । चण्डेश्वरी जात्रामा बनेपाका स्थानीय मानन्धर, भोछिभोया, राजवाहकलगायतका सबै नेवार समुदायसँग प्रत्यक्ष सम्बन्ध रहने भएकाले यो जात्रालाई विशेष महत्वका साथ लिइने गरिएको हो ।