कांग्रेसभित्र गलत गर्ने छुट कसैलाई छैन : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस राष्ट्रिय शक्ति भएकाले गलत काम र गलत निर्णय गर्ने छुट पार्टीभित्र कसैलाई नभएको बताएका छन् ।

नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं १ को दोस्रो क्षेत्रीय सम्मेलनलाई आज पुतलीबजारमा सम्बोधन गर्दै उनले कांग्रेस नेतृत्वको सरकारले जनताका निराशा आशामा बदल्दै सकारात्मक परिवर्तनका पक्षमा काम गरिरहेको बताए ।

आगामी निर्वाचनभन्दा पहिले नेपाली कांग्रेसको महाधिवेशन गर्नुपर्नेमा जोड दिँदै थापाले कांग्रेस एक्लै आगामी निर्वाचनमा जानेगरी जनताका पक्षमा काम गर्दै पूर्वाधार निर्माण गर्नुपर्ने धारणा राखे ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सतार, सरस्वती अर्याल तिवारी, गण्डकी प्रदेश उपसभापति कल्पना तिवारी, नेपाली कांग्रेस स्याङ्जाका सभापति राजु थापालगायतले आ–आफ्नो धारणा राखेका थिए ।