साँझ ६ बजे मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने तालिका रहेकामा त्यो पनि भएन । पदाधिकारीका दाबेदारले समर्थकको सहयोगमा शनिबार साँझदेखि प्रचार सुरु गरेका छन् । महाधिवेशन स्थल पोखरा सभागृहमा युवा संघका नेता-कार्यकर्ताले शनिबार साँझदेखि फरक-फरक पदका उम्मेदवारको पक्षमा मत माग्दै राति १० बजेसम्म नाराबाजी गरेका थिए ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान अध्यक्ष क्षितिज थेबेलाई नै फेरि अध्यक्ष बनाउन चाहेका छन् । यसबाट अध्यक्षका दाबेदार उपाध्यक्षद्वय महाराज गुरुङ र कृष्णहरि पौडेल, महासचिव सुमन पुरीलगायत अन्य आकांक्षी असन्तुष्ट छन् । थेबेलाई पुनः अध्यक्ष बनाउने ओलीको आशय बुझेपछि गुरुङ र पौडेल पछि हट्ने मनस्थितिमा पुगेका छन् ।
स्रोतका अनुसार युवा संघका पूर्वाध्यक्ष महेश बस्नेत, राजीव पहारी, किरण पौडेल थेबेलाई पुनः अध्यक्ष बनाउन तयार छैनन् । थेबेको क्रियाशीलताले आफूहरू युवा संघबाट छायामा पर्ने बुझेर बस्नेत, पहारी र पौडेलले थेबेलाई अध्यक्ष बनाउन नचाहेको स्रोतको भनाइ छ । तर, ओलीको निर्देशनपछि उनीहरूले त्यसविपरीत कुनै कदम चाल्न सकेका छैनन् । पूर्वाध्यक्ष महेश-राजीवले वर्तमान उपाध्यक्ष गुरुङलाई अध्यक्ष बनाउन चाहेका थिए । थेबेलाई अध्यक्ष बनाउन ओलीको निर्देशनपछि गुरुङले अन्तिममा थेबेलाई समर्थन गर्ने र उपाध्यक्ष बस्ने नेताहरुलाई जानकारी गराइसकेका छन् ।
अध्यक्षका आकांक्षी सुमन पुरीले सर्वसम्मतको प्रयास भए पनि त्यो स्थिति नदेखिएको सुनाए । `सर्वसम्मतको प्रयास नभएको होइन । तर सर्वसम्मत हुने स्थिति देखिएन । हामी प्रचारमै शान्तिपूर्ण तरिकाले लागेका छौं,´ उनले भने । वर्तमान अध्यक्षलाई पुनः दोहोर्याउने विषय मिडियाले चलाएको हल्लामात्र भएको उनले दाबी गरे । `हिजोसम्म मेरो नाम आएको थियो । अहिले उहाँको छ । यो मिडियाले चलाएको हल्ला हो,´ उनले भने ।
पुरीले निर्वाचन भएमा जित्ने र एकलौटी गर्न खोज्दा संगठन र पार्टीमा ठूलो संख्यामा असन्तुष्ट हुने सन्देश नेताहरुलाई दिएका छन् । त्यसैले अन्तिममा थेबे र पुरीबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । अध्यक्षका दाबेदार कृष्णहरि पौडेलले आफू अध्यक्षभन्दा तलको पदमा नबस्ने योजनामा छन् । आइतबार मनोनयनसम्मको अवस्था हेरेर माहोल सिर्जना र निर्णय हुने उनको भनाइ छ ।
मतदान हुने सम्भावना बढेपछि काठमाडौंबाट ४५ वटा भोटिङ मेसिन शनिबार साँझ पोखरा ल्याइएको छ । शनिबार रातभरमा सहमति नजुटेमा आइतबार दिउँसो २ बजेपछि मतदान सुरु गर्ने तयारी छ । महाधिवेशनमा देशभरबाट १ हजार ८ सय प्रतिनिधि छनोट भएका छन् ।
































