रसुवा। प्रसिद्ध धार्मिकस्थल गोसाईंकुण्ड तथा जैविक विविधता र प्राकृतिक सम्पदाको हिसाबले धनी एवं रमणीय लाङटाङ क्षेत्र घुम्न आउने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ ।
विशेष गरी पवित्र तीर्थस्थलको दर्शनसहित हिमाल तथा पहाडको सुन्दर दृश्य हेरी रमाउने र स्थानीय तामाङ समुदायको कला संस्कृतिको अवलोकन गर्ने उद्देश्यले पर्यटक रसुवा आउने गरेको देखिन्छ ।
चालु आर्थिक वर्षको पछिल्लो ११ महिनामा गोसाईंकुण्ड तथा लाङटाङ क्षेत्रमा ४२ हजार २३० आन्तरिक एवं बाह्य पर्यटकले भ्रमण गरेको लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।
आन्तरिक पर्यटक लाङटाङतर्फको प्राकृतिक दृश्यको अवलोकनपछि गोसाइँकुण्डमा जल स्नान गरी फर्कने गर्दछन् । सङ्घीय राजधानी काठमाडौँबाट नजिक रहेको धार्मिक तथा पर्यटकीयस्थल रसुवामा विशेष गरी तीथयात्रुसहित युवायुवतीको घुम्न आउने क्रम बढेको छ ।निकुञ्जका अनुसार सोही अवधिमा आगन्तुक पर्यटक, वन पैदावार र हेलिकोप्टर अवतरण शुल्कबापत रु चार करोड ८१ लाख राजस्व सङ्कलन भएको छ । नेपालीलाई प्रतिव्यक्ति रु एक सय ‘सार्क’ राष्ट्रका नागरिकलाई रु एक हजार ५०० र अन्य देशका पर्यटकलाई रु तीन हजारका दरले निकुञ्ज प्रवेश शुल्क लिने कानुनी व्यवस्था बमोजिम उक्त रकम सङ्कलन भएको निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत श्यामकुमार शाहले जानकारी दिए ।
अध्यागमन कार्यालय घट्टेखोला रसुवागढीका प्रमुख लेखनाथ खतिवडाका अनुसार मानसरोवरका अतिरिक्त ८८५ जना तिब्बतको लाह्सा र १५९ जना चाइना एभरेष्टतर्फ प्रस्थान गरेका छन् ।