महोत्तरी –समयमा वर्षा नभएपछि मुख्यबाली धान लगाउन नपाएको भन्दै यहाँका किसानले चिन्ता व्यक्त गरेका छन्। असार तेस्रो साता लागिसक्दा पनि पानी नपरेपछि आकाशे पानीको भरमा खेती गर्ने किसान चिन्तित बनेका हुन्।
महोत्तरीमा करिब ७१ हजार हेक्टर खेतीयोग्य जग्गामध्ये ४५ हजार हेक्टरमा धानखेती लगाउने गरिएको कृषि ज्ञान केन्द्र महोत्तरी कार्यालय जलेश्वरले जनाएको छ।
“यसपाली पानी नपरेकाले सिँचाइ अभावले समयमा धानको ब्याड राख्न नसकेपछि अहिलेसम्म रोपाइँ भएको छैन”, कार्यालय प्रमुख एवं वरिष्ठ कृषि अधिकृत देवानन्द यादवले भने, “यसपालि धान रोपाइँ पछि पर्ने छाँट छ।” मुस्किलले जिल्लामा पूग÷नपूग तीन–चार प्रतिशत मात्र रोपाइँ भएको उनले जानकारी दिए।
“जिल्लाको कूल खेतीयोग्य जग्गामध्ये १० प्रतिशत मात्र कुलोको पानी लाग्नेगरी सिँञ्चित छ। यसपालि लामो खडेरीले कुलो चल्ने पानीका स्रोतका मूहान सुकेका छन्। राम्ररी पानी नपरेसम्म मूहान नरसाउने हुँदा यस्ता जग्गामा पनि रोपाइँ हुन सकेको छैन”, यादवले भने।
तीनै तहका सरकारका नीति तथा कार्यक्रम र बजेटमा कृषिको चर्चा भए पनि उपलब्धिमूलक रूपमा कार्यान्वयन नभएको किसानको गुनासो छ। वास्तविक किसानले पाउने सहुलियत वास्तविक किसानसम्म नपुगेपछि निराशा बढेको भङ्गाहा–६ का राजकिशोर यादवले बताए।
सही समयमा पानी नपर्नुका प्राकृतिक कारण भए पनि अधिकांश मानव सिर्जित रहेका वातावरण तथा चुरे विज्ञ डा विजयकुमार सिंहले बताए। “धेरै असर विश्वव्यापी जलवायु परिवर्तनको हो। अनि स्थानीय कारणमा चुरे पहाड र नदीक्षेत्रमा अनियन्त्रित उत्खनन बढ्नु, वन मासिँदै जानुले सन्तुलित वर्षा हुन छाडेको छ”, उनले भने।































