गड्यौला मल खेतीबाली लागि बहुउपयोगी

गण्डकी – पोखरा महानगरपालिका–११ का लक्ष्मी अधिकारी र टीकामाया मगरले व्यावसायिक गड्यौला मल खेतीतर्फ आकर्षित बनेका छन्। निलबाराही कृषि तथा भर्मी कम्पोष्ट एग्रो फर्म सञ्चालन गर्दै आएका दुवैजनाले गड्यौला मल खेती गर्दै त्यसबाट पर्याप्त आम्दानी गरिहनुभएको छ। उहाँहरुले गड्यौला मलको खेतीसँगै तरकारी र घाँसको खेती गरिरहेका छन्।

उक्त फर्मका सञ्चालक लक्ष्मी अधिकारीले पछिल्लो समयमा गड्यौला मलको माग बढ्दै गएको बताइन्। उनले आफ्नो फर्मबाट प्रति किलो रु ५० का दरले गड्यौला मल बिक्री भइरहेको जानकारी दिइन्। सुरुआतमा थोरै क्षेत्रफलमा गरिएको गड्यौला मलको खेती अहिले करिब डेढ रोपनी क्षेत्रफलमा गरिएको उनले बताइन्।

गड्यौला मलको खेतीका लागि भक्तपुरको बोडेबाट गड्यौला ल्याउने गरिएको जानकारी दिँदै अधिकारीले आफूहरूले ठूलो मात्रामा गड्यौला मल ल्याउने गरेको जानकारी दिइन्। प्रत्येक तीन महिनाको अवधिमा गड्यौला मल तयार हुने उनले बताइन्। हालसम्म एउटा याममा एक हजार किलोसम्म गड्यौला मल तयार हुने गरेकामा अब भने क्षेत्र विस्तारपछि दुई हजार किलोग्रामसम्म उत्पादन गर्ने लक्ष्य राखिएको अधिकारीले बताइन्।

गड्यौला खेतीको क्षेत्र विस्तारका क्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ, कास्कीबाट ५० प्रतिशत अनुदानस्वरुप रु चार लाख सहयोग प्राप्त भएको अधिकारीले बताउनुुभयो। गड्यौला मल प्राङ्गारिक खेतीका लागि अति उत्तम मानिने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ कास्कीका प्रमुख माधवप्रसाद लम्सालले बताइन्। विशेषतः थोरै क्षेत्रफलमा खेती गर्ने, कौशी खेती गर्नेका लागि रासायनिक मलको प्रयोगको विकल्पमा गड्यौला मल रहेको छ।

 

यस मलमा सामान्य माटोमा पाइने नाइट्रोजनभन्दा पाँच गुणा, फस्फोरसभन्दा सात गुणा र पोटासभन्दा ११ गुणा बढी मात्रामा पाइने कारण खेतीबालीका लागि बहुउपयोगी हुन्छ। व्यावसायिक गड्यौला मल खेतीमा सम्भावना देखरै आफूहरू यसतर्फ आकर्षित बनेको टीकामाया मगरले बताइन्। व्यावसायिक गड्यौला मलखेतीका माध्यमबाट आयआर्जन गर्ने लक्ष्यका साथ आफूहरू निरन्तर यसमा लागिपरेको उनको भनाइ छ।