आईफोन प्रयोगकर्तालाई गुगल क्रोम र गुगल एप प्रयोग बन्द गर्न एप्पलको चेतावनी

काठमाडौँ । एप्पलले आफ्ना आईफोन प्रयोगकर्तालाई गोपनीयताका हिसाबले असुरक्षित रहेको भन्दै गुगल क्रोम तथा गुगल एपको प्रयोग बन्द गर्न चेतावनी दिएको छ । कम्पनीले आफ्नो वेबसाइटमा एक अपडेट जारी गर्दै गुगलका उत्पादनहरू गोपनीयताका दृष्टिकोणले कमजोर भएकाले क्रोमको सट्टा आफ्नै सफारी ब्राउजर प्रयोग गर्न सुझाव दिएको हो ।

सफारीले प्रयोगकर्ताको गोपनीयता (प्राइभेसी) वास्तवमै सुरक्षित राख्ने दाबी गर्दै एप्पलले पछिल्लो समय गोप्य रूपमा भइरहेको ‘फिङ्गरप्रिन्टिङ’ प्रविधिबाट बच्न गुगलका अन्य एप पनि प्रयोग नगर्न आग्रह गरेको छ । गुगलले प्रतिबन्ध हटाएपछि डिजिटल फिङ्गरप्रिन्टिङ तीव्र रूपमा बढेको र यसलाई प्रयोगकर्ता आफैले बन्द गर्न नसक्ने भएकाले यो गोपनीयताका लागि चिन्ताजनक रहेको कम्पनीको भनाइ छ ।

कुकिजमा जस्तो ‘अप्ट-आउट’ को विकल्प नहुँदा फिङ्गरप्रिन्टिङ मार्फत प्रयोगकर्ताको फोनमा भएका अलग-अलग साना डेटा जोडेर पहिचान बनाइने र जसले गर्दा लगातार ट्र्याक गर्न सजिलो हुने विज्ञहरूको तर्क छ ।

एप्पलका अनुसार सफारीले विज्ञापनदाता र वेबसाइटलाई प्रयोगकर्ता ट्र्याक गर्नबाट रोक्ने काम गर्छ । सफारीले प्रयोगकर्ताको फोन वा कम्प्युटरको धेरै जानकारी लुकाएर एकदमै साधारण रूपमा देखाउने हुँदा ट्र्याक गर्नेहरूलाई सबैको डिभाइस एक-आपसमा उस्तै देखिन्छ जसको परिणाम स्वरूप ट्र्याकरलाई डिभाइसको विशिष्ट पहिचान गर्न गाह्रो हुन्छ । यस्तो सुरक्षा प्रणाली एप्पलले मात्र नभई मोजिलाले पनि आफ्नो फायरफक्स ब्राउजरमा उपलब्ध गराएको छ ।

एप्पलले सफारीमा एआई-आधारित ट्र्याकिङ रोकथाम, प्राइभेट ब्राउजिङ र लोकेसन डेटा सङ्कलनविरुद्ध सुरक्षा रहेको जनाएको छ । यसमा क्रोम असफल भएको एप्पलको आरोप छ ।

कम्पनीले सफारीमा पनि गुगल डक्स, सिट्स र स्लाइड्स जस्ता सेवा सहज रूपमा चल्ने स्पष्ट पारेको छ । यद्यपि सफारी प्रयोग गर्दा पनि एप्पलको गुगलसँगको इन्टिग्रेसनले प्रयोगकर्तालाई समस्यामा पार्न सक्ने जोखिम कायमै छ । सफारीमा वेब सर्च गर्दा प्रायः डिफल्ट सर्च इन्जिनको रूपमा गुगल नै प्रयोग भइरहेको हुन्छ । यस्तोमा गुगलले प्रत्येक पेजको पुछारमा आफ्नो ‘गुगल एप’ को लिङ्क हाइलाइट गरेर राखेको हुन्छ । त्यहाँ ‘वान-क्लिक रिडाइरेक्ट’ हुने हुँदा प्रयोगकर्ता झुक्किएर एपमा पुग्ने सम्भावना अधिक रहन्छ । गुगल एपले सङ्कलन गर्ने डेटा र त्यसलाई प्रयोगकर्ताको पहिचानसँग जोड्ने प्रक्रिया क्रोमभन्दा पनि खतरनाक रहेको चेतावनी दिइएको छ ।

विश्व बजारमा तीन अर्बभन्दा बढी प्रयोगकर्तासहित ब्राउजर मार्केटमा क्रोमको प्रभुत्व कायम रहे पनि एप्पलले आईफोनमा गुगल एप प्रयोग गर्नुअघि त्यसले गर्ने ‘डेटा हार्वेस्टिङ’ बारे सचेत रहनुपर्नेमा जोड दिएको छ ।

निजी रूपमा इन्टरनेट चलाउन चाहने प्रयोगकर्ताले सफारी छोडेर अन्य ब्राउजरतिर नजाऊन् भन्ने आशयले एप्पलले निलो रङको ‘Try App’ भन्ने बटनमा क्लिक नगर्न सुझाव दिएको छ । एप्पलले भन्छ, “यदि प्रयोगकर्ताले यी सबै कुरा बुझिसकेपछि पनि क्रोम वा गुगलको एप प्रयोग गर्नै चाहन्छन् भने त्यो उनीहरूको आफ्नै निर्णय हो । तर त्यसो गर्दा गोपनीयताको जोखिम बढ्न सक्छ, त्यसका लागि भने प्रयोगकर्ता सचेत हुनु जरुरी छ ।”