जेनजी आन्दोलनमा घाइते पत्रकार सम्मानित

काठमाडौं – सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारहरूलाई नगदसहित सम्मान गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको रपोर्टिङका क्रममा घाइते पत्रकारलाई सम्मान गरेको हो ।

मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चार जना घाइते पत्रकारलाई सम्मान गरे । कार्यक्रममा स्वतन्त्र पत्रकार शम्भु दाहाललाई रु एक लाख नगद तथा सम्मान, श्याम श्रेष्ठ कान्तिपुर टेलिभिजन, उमेश कार्की नेपाल प्रेस तथा दीपेन्द्र ढुङ्गाना नयाँ पत्रिकालाई जनही रु २५ हजारसहित सम्मान गरिएको थियो ।

 

मन्त्री खरेलले आन्दोलनका क्रममा गम्भीर घाइते भएका पत्रकारको उपचार खर्च राज्यले बेहोर्ने बताउँदै घाइते पत्रकारलाई निरन्तर सम्पर्कमा रहन आग्रहसमेत गरे । उनले भने, “राज्यले तपाईँहरूको उपचार खर्च व्यहोर्नुपर्छ, व्यहोर्छ । मैले त्यतिबेला पनि भनेको थिएँ । आज पनि भन्छु । यत्रो दुनियाँको खर्च व्यहोरिरहेको सरकारले तपाईँको किन नव्यहोर्ने ? तर यसमा मिसइन्फरमेसनचाहिँ नहोस् । सरकारले वास्ता गरेन हैन, गर्छ । तर सम्पर्क त हुनुपर्यो ।”

मन्त्री खरेलले निजी क्षेत्रका सञ्चारमाध्यममा कार्यरत पत्रकारलाई सामाजिक सुरक्षाको योजनामा समेट्नेगरी अभियान नै सञ्चालन गर्न तथा बेरोजगार घाइते पत्रकारको रोजगारीको व्यवस्था गर्नेगरी क्रियाशील हुन नेपाल पत्रकार महासङ्घलाई आग्रह गरे । सञ्चारमन्त्री खरेलले घाइते पत्रकारले चाहेको खण्डमा उचित रोजगारीको व्यवस्थापन पत्रकार महासङ्घले गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष नितु पण्डितले सरकारले पत्रकारहरूको कामको सम्मान गरेको भन्दै खुसी व्यक्त गरे । सम्मानितमध्येबाट पत्रकार शम्भु दङ्गालले अग्रपङ्क्तिमा परिचालन हुने पत्रकारको सुरक्षाका लागि सरकारले नीतिगत व्यवस्था गर्नुपर्ने, पत्रकार सुरक्षा कोषको प्रबन्ध गर्नुपर्ने, पत्रकारहरूलाई सामाजिक सुरक्षाको योजनामा आबद्ध गर्नुपर्नेमा जोड दिए ।

पत्रकार दीपेन्द्र ढुङ्गानाले घाइते पत्रकारलाई उपचार खर्च उपलब्ध गराउनुपर्ने तथा आगामी दिनमा अग्रपङ्क्तिमा खटिने पत्रकारको सुरक्षाका लागि नीतिगत सुधार गरिनुपर्ने खाँचो औँल्याए।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याल, मन्त्रालयका उच्च पदाधिकारी तथा नेपाल पत्रकार महासङ्घका पदाधिकारी तथा सञ्चार क्षेत्रका विभिन्न निकायका पदाधिकारीको उपस्थिति थियो ।