तराई-मधेस क्षेत्रमा अत्यधिक चिसो

महोत्त्तरी लगायत तराई-मधेस क्षेत्रमा विगत केही दिनदेखि अत्यधिक चिसो बढ्दै जाँदा जनजीवन प्रभावित हुने सम्भावना बढेको छ । चिसोका कारण जनजीवन प्रभावित हुनसक्ने भन्दै जिल्ला प्रशासन कार्यालय महोत्तरीले जिल्लावासीहरूलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

बुधबार जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा शीतलहरको समयमा सावधानी नअपनाए स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै सबैलाई सचेत रहन अनुरोध गरिएको छ । प्रशासनले बाहिर निस्कँदा बाक्लो र न्यानो लुगा लगाउन, टाउको र छाती जोगाउन टोपी तथा मफलरको प्रयोग गर्न आग्रह गरेको छ ।

विशेषगरी बालबालिका, वृद्ध वृद्धा र सुत्केरी महिलाको स्वास्थ्यमा थप ध्यान दिनुपर्ने प्रशासनको भनाइ छ । सूचनामा सकेसम्म तातो तथा झोलिलो पोसिलो खानेकुरा खान र मनतातो पानीको सेवन गर्न सुझाव दिइएको छ ।

आगो वा हिटर बालेर बस्दा पर्याप्त हावा ओहोरदोहोर हुने स्थान रोज्न प्रशासनले आग्रह गरेको छ । त्यसैगरी पशु चौपायालाई समेत चिसोबाट जोगाउन सुरक्षित र न्यानो गोठको व्यवस्था गर्न पशुपालक किसानहरूलाई आग्रह गरिएको छ ।

शीतलहर वा अन्य कुनै आकस्मिक विपद्‌को तत्काल सम्बोधनका लागि आवश्यक परेमा प्रहरी कन्ट्रोल रुमको सम्पर्क नम्बर १०० मा फोन गर्न सकिने प्रशासनले जनाएको छ ।

साथै सहायक प्रमुख जिल्ला अधिकारी, सम्बन्धित क्षेत्रका नगर प्रमुख वा गाउँपालिका अध्यक्ष, उपप्रमुख–उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, नजिकको प्रहरी कार्यालय तथा जनप्रतिनिधिसँग निरन्तर सम्पर्कमा रहन पनि आग्रह गरिएको छ ।