काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टीलाई मिलाउन करिब एक वर्ष लामो भूमिका खेल्ने नेता शिशिर खनाल लगायतको टिम अहिले सफल भएको छ । रास्वपा हरेक जसो राजनीति वार्ताहरूमा अगाडि सार्ने खनाललाई पार्टीले राजनीति दूत बनाएको छ भन्दा फरक पर्दैन । पार्टीमा वैचारिक र तथ्यपरक विचार राख्ने खनाललाई पार्टी सभापति रवि लामिछाने तथा उपसभापति डा. स्वर्णिम वाग्ले पनि पत्याएका छन् । हरेकजसो राजनीतिक निर्णयमा खनाल रास्वपाको अग्रपङ्क्तिमा हुन्छन् ।
खनालले रास्वपामा बालेन आएपछि अब पार्टीको लक्ष्य बहुमत हासिल गर्ने र एकल सरकार बनाएर स्थायी सरकार दिने बताउँछन् । बनाएर जनताका जनजीविकाका मुद्दालाई सल्ट्याउनका लागि पनि वैकल्पिक शक्ति एक हुनुपर्ने खनालको मत छ । जेन-जी विद्रोह मार्फत प्रकट भएको विशेष राजनीतिक परिस्थितिमा रास्वपाले सबै वैकल्पिक शक्ति र व्यक्तिहरूलाई एक ठाउँमा नल्याए देशमा थप तनाव सिर्जना हुने र वैचारिक शक्तिहरू माथि पुराना दलले नै हैकम जमाउने प्रवृत्ति हुने कारण सचेत भएर रास्वपाले काम गरेको उनको बुझाई छ ।
यसबारे उनी भन्छन्, ‘लामो समयदेखि शासन सत्तामा रहनुभएका राजनीतिक दलको नेतृत्वले नेपाललाई अस्थिरतातर्फ लगेको देखिन्छ । समृद्धिको बाटोमा नेपाललाई लैजानका लागि बलियो राजनीति शक्ति र त्यो सँगसँगै बलियो दल, स्थायी सरकार दिनसक्ने शक्ति बनाउन नै हामी लागेका हौँ । हरेक ३–३ महिनामा सरकार परिवर्तनको खेलमा जाँदा देशलाई निकास दिन सकिँदैन । जेन-जी विद्रोहले सिर्जना गरेको विशेष मौकालाई सदुपयोग गर्दै वैकल्पिक राजनीति शक्ति एक बनाउन लागेका हौँ ।’
उनी राष्ट्रिय स्वतन्त्र पार्टीले बहुमत ल्याएरै छाड्ने उनको दाबी छ । र, बहुमतपछि प्रधानमन्त्री र संसदीय दलको नेता बालेन नै हुने उनले बताए । यसलाई लिएर कुनै पनि रास्वपा नेताहरूले अवरोध नगर्ने उनी दाबी गर्छन् । वैकल्पिक शक्तिहरूसँगको एकता नसेलाएको बताउँदै उनले कुलमान घिसिङ लगायतका नेताहरूसँग पनि अन्तिम छलफल भइरहेको जानकारी दिए । रास्वपाले अहिले सबैसँग पहिलो चरणमा छलफल गरिरहेको उनले स्पष्ट पारे । उनले भने, ‘सकेसम्म पार्टी एक बनाउने योजना छ । यदि त्यो सम्भव नभए दोस्रो चरणमा अलायन्समार्फत मोर्चागत सहकार्य पनि हुनसक्छ ।’
उनी मधेसका नेता सीके राउतदेखि, मधेसी अलायन्स, सुदूरपश्चिममा नयाँ शक्ति उदाएको नागरिक उन्मुक्ति र रेशम चौधरी लगायतका नेतासँग पनि छलफल भइरहेको बताउँछन् । गोपी हमाल लगायतका नेता पनि पार्टीमा आउने विषयमा सकारात्मक रहेको र पूर्वका हर्क साम्पाङ लगायतसँग पनि छलफल हुने दाबी गर्छन् ।
पार्टी एक भएपछि सभापति रवि लामिछाने उपसभापति स्वर्णिम वाग्ले भर्खरै पार्टी प्रवेश गरेका नेता बालेन्द्र शाह लगायतको टोली देशव्यापी दौडमा जाने बताउँदै उनी यही निर्वाचन प्रणाली मार्फत बहुमत ल्याएर रास्वपाले देखाउने उल्लेख गर्छन् । उनी भन्छन्, ‘२०७४ को निर्वाचनमा नेकपालाई नेपाली जनताले बहुमत दिन सम्भव भएको र ७२ मा चाहिँ किन सम्भव नहुने ?’































