गुणस्तरहीन डाबर मह बजारबाट फिर्ता

काठमाडौं । बजारमा बिक्री भइरहेको डाबर ब्राण्डको मह गुणस्तरहीन भेटिएपछि बजारबाट तत्काल फिर्ता गर्न आदेश दिइएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जारी गरेको ‘खाद्य पदार्थ फिर्ता सम्बन्धी आदेश’अनुसार बजार अनुगमन तथा नमुना परीक्षणका क्रममा डाबर ब्राण्डको ५ सय ग्राम प्याकेटको मह निर्धारित गुणस्तर मापदण्डअनुसार नभएको पाइएको हो ।

विभागका अनुसार ब्याच नम्बर ‘NB00477’ रहेको उक्त महको नमुना परीक्षण प्रतिकूल देखिएपछि बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिइएको हो । विभागले सम्बन्धित ब्याचका उत्पादन बिक्री–वितरण नगर्न तथा नगराउनसमेत आदेश दिएको जनाएको छ ।

सूचनाअनुसार उक्त महको उत्पादन मिति २०२५/१२ उल्लेख गरिएको छ भने उपभोग अवधि १८ महिना रहेको छ । खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार विभागले सम्बन्धित उत्पादन बजारबाट हटाउन तथा आवश्यक कारबाही अघि बढाउन निर्देशन दिएको हो ।