प्रधानमन्त्री शाह र भारतीय स्थल सेनाध्यक्ष सेठबीच भेटवार्ता

काठमाडौं- प्रधानमन्त्री एवं रक्षामन्त्री वालेन्द्र शाहसँग भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठले मंगलबार दिउँसो भेटवार्ता गरेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार भएको भेटमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसमेत सहभागी थिए ।

प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा सेनाध्यक्ष सेठ चारदिने नेपाल भ्रमणका क्रममा आइतबार काठमाडौं आएका हुन् ।

भ्रमणका क्रममा सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका थिए ।

नेपाल र भारतबीच सन् १९५० देखि एकअर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने परम्परा रहँदै आएको छ ।

सेनाध्यक्ष सेठले सोमबार नै प्रधान सेनापति अशोकराज सिग्देलसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । भेटमा दुई देशका सेनाबीचको सहकार्य र आपसी सम्बन्धका विषयमा छलफल भएको थियो ।