काठमाडौं– वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार सन् २०२६ जुलाई १७ देखि अगस्ट १६ (साउन महिना) सम्मको अवधिमा ७० हजार ४ सय ४१ नेपालीले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति पाएका छन् ।
विभागको तथ्याङ्क अनुसार यस अवधिमा श्रम स्वीकृति लिनेमा पुरुषको संख्या ६० हजार ४ सय ७२ र महिलाको संख्या ९ हजार ९ सय ६९ रहेको छ ।
नेपाली कामदारका लागि प्रमुख गन्तव्य मुलुकका रूपमा युनाइटेड अरब इमिरेट्स देखिएको छ । साउन महिनामा मात्रै युएईका लागि १८ हजार ७ सय ८४ जनाले श्रम स्वीकृति पाएका छन्। दोस्रो प्रमुख गन्तव्यका रूपमा मलेसिया रहेको छ, जहाँ १२ हजार ४ सय ९८ जना जान लागेका छन्।
अन्य देशहरूमध्ये कतारमा १० हजार ३६०, साउदी अरबमा ८ हजार ६१३, कुवेतमा ४ हजार ५६७, रोमानियामा २ हजार ९०८ र जापानका लागि १ हजार २४४ जनाले श्रम स्वीकृति लिएका छन् । यसका साथै पोर्चुगल, टर्की, साइप्रस र माल्दिभ्स लगायतका देशहरूमा पनि नेपालीहरू रोजगारीका लागि जान लागेको तथ्याङ्कले देखाउँछ।
विभागको तथ्याङ्क अनुसार वैदेशिक रोजगारीमा जानेहरूमध्ये अधिकांश दक्ष श्रेणीका रहेका छन् । कुल ७० हजार ४ सय ४१ मध्ये ४० हजार ४ सय ९६ जना दक्ष कामदारका रूपमा श्रम स्वीकृति लिनेहरू छन् ।
वैदेशिक रोजगारीमा जानेहरूको जिल्लागत तथ्याङ्क हेर्दा मधेश प्रदेश र कोशी प्रदेशका जिल्लाहरूबाट धेरै मानिस बाहिरिएको देखिन्छ । सबैभन्दा बढी धनुषा जिल्लाबाट ३ हजार ३ सय ६८ जनाले श्रम स्वीकृति लिएका छन् ।
सो अवधिमा इजाजतपत्र प्राप्त म्यानपावर कम्पनी मार्फत २९ हजार ४ सय ४७ जनाले अनुमति पाएका छन् । व्यक्तिगत रूपमा नयाँ जानेको संख्या १२ हजार ४ सय ४२ छ भने सरकारी स्तरको सम्झौता मार्फत ७ सय १२ जनाले रोजगारीको अवसर पाएका छन् ।






















