सुनसरी । चौबीसौँ बुढासुब्बा गोल्डकपको उपाधि काठमाडौँको न्युरोड टिम एनआरटीले जितेको छ। शनिबार धरान रङ्गशालामा भएको फाइनलमा मोरङ फुटबल सङ्घलाई २–१ गोलले पराजित गर्दै एनआरटीले उपाधि हात पारेको हो।
विसं २०६४ मा आयोजित १०औँ संस्करणको बुढासुब्बा गोल्डकपको विजेता एनआरटीले १४ वर्षपछि दोस्रोपटक उपाधि जितेको हो। जितसँगै एनआरटीले १० लाख, ट्रफी तथा मेडल पायो भने मोरङले उपविजेतामा सिमित रह्यो।
प्रतियोगीताभरको सर्वोत्कृष्ट खेलाडी एनआरटीका सनम लिम्बू घोषित हुँदै एक लाख प्राप्त पारे । एनआरटी ओफिज ओलावा र सरोज तामाङसँगै मोरङका उमेश कार्की होइस्कोरर घोषित भए । उनीहरूले जनही १२ हजार प्राप्त गरे।
यस्तै उत्कृष्ट डिफेन्डर मोरङका महेन्द्र कार्की, उत्कृष्ट स्टाइकर एनआरटीका शिशिर लेखी, उत्कृष्ट मिडफिल्डर एनआरटीका जय गुरुङ, उत्कृष्ट गोलकिपर एनआरटीका पुजन होना, उत्कृष्ट प्रशिक्षक एनआरटीका जीवन सिन्खेमना घोषित हुँदै जनही २५ हजार प्राप्त गरे । खेलको प्लेयर अफ दी म्याच एनआरटीका पदम भट्टराई घोषित भए। उनले रु १० हजार प्राप्त गरे।

























