काठमाडौं । वानीरा फाउन्डेसनले सिर्जना र चलचित्रमा समर्पित रही योगदान गरेका तीनजना स्रष्टालाई सम्मान गर्ने भएको छ ।
सात दशकदेखि सिर्जनामा समर्पित रही विशेषतः कविता, कथा, उपन्यास र समालोचनाको संवृद्धिमा उल्लेख्य योगदान पुर्याएकोमा प्रा।पुष्कर लोहनीलाई ‘वानीरा प्रज्ञा पुरस्कार’ दिने निर्णय भएको छ । त्यस्तै नेपाली रङ्गमञ्च तथा चलचित्रकलामा विगत ६ दशकदेखि निरन्तर समर्पित रही नाट्यकलाको विकासमा विशिष्ट योगदान गरेकोमा नाट्यभूषण मदनदास श्रेष्ठलाई ‘वानीरा शङ्कर पुरस्कार’ दिने भएको छ । दुवै पुरस्कारका राशि जनही १ लाख रहेका छन् ।
त्यस्तै, कथा र कविताको सिर्जनामा समर्पित रही नेपाली साहित्यको संवर्धनमा उल्लेख्य योगदान दिएबापत अनिता तुलाधरलाई ५० हजार राशिको ‘वानीरा पुरस्कार’ दिने भएको छ ।
नेपाली साहित्यका विश्व नारी रत्न डा।वानीरा गिरीको ८१ औँ जयन्तीका अवसरमा आगामी वैशाख २८ गते काठमाडौंको मीनभवनस्थित वानीरा फाउन्डेसनको सभाकक्षमा यी पुरस्कारहरु वितरण गरिने वानीरा फाउन्डेसनले जनाएको छ ।