काठमाडौं । हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि साधारणतया बदली भइरहेको छ ।
कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरुमा हल्का वर्षा साथै गण्डकी प्रदेशको केही स्थानमा मध्यम वर्षा भईरहेको छ।
देशभर साधारणतया बदली रहने छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती प्रदेश सहित कोशी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम बर्षा र मधेश प्रदेश सहित बाँकी तराईका थोरै स्थानहरूमा छिटफुट देखि हल्का बर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।
देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेकाले त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।