आममाफी विवादमा परेपछि हंगेरीकी राष्ट्रपतिद्वारा राजीनामा

एजेन्सी। हंगेरीकी राष्ट्रपति काटालिन नोभाकले राजीनामा दिएकी छन्।

बाल यौन शोषणको मुद्दामा दोषी ठहरिएका व्यक्तिलाई माफी दिने निर्णय विवादमा परेपछि कन्जरभेटिभ राष्ट्रपति नोभाकले राजीनामा दिएकी हुन्।

हंगेरीमा सरकारले सञ्चालन गरेको बालगृहमा बालबालिकामाथि यौनशोषण गरेको अभियोगमा त्यहाँको प्रमुखलाई ८ वर्षको जेल सजाय सुनाएको थियो। उक्त घटनालाई लुकाउन भूमिका खेलेको अभियोकमा उनका सहयोगीलाई पनि जेल सजाय सुनाएको थियो।

गत वर्षको अप्रिलमा पोप फ्रान्सिसको हंगेरी भ्रमणको अवसरमा राष्ट्रपति नोभाकले ती व्यक्तिसहित दुई दर्जनलाई माफी दिएको एशोसियट प्रेसले उल्लेख गरेको छ।

जघन्य अपराधका मतियारलाई आममाफी दिएपछि हंगेरीमा एक साता अघिदेखि राष्ट्रपतिको राजीनामा माग्दै प्रदर्शन भएको थियो। चर्को आलोचनापछि उनले शनिबार माफी माग्दै पदबाट राजीनामाको घोषणा गरेकी हुन्।