काठमाडौं । कुवेतको मंगाफ शहरस्थित एक बहुतले भवनमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ४९ पुगेको छ । मृतकहरुमध्ये अधिकांश भारतीय नागरिक छन् ।
द गार्जियनका अनुसार मृतकहरुमध्ये ४२ जना भारतीय नागरिक भएको पुष्टि भएको छ । भारतीय मिडियाहरुले पनि ४२ जना भारतीय नागरिकको मृत्यु भएको पुष्टि गरेको छ।
भारतका विदेश राज्यमन्त्री कीर्तिवद्र्धन सिंह आज कुवेत जान लागेका छन् । राज्यमन्त्री सिंहले आगलागीको कारणबारे कुवेत सरकारसँग बुझ्ने, घाइतेहरुलाई भेट्ने र शवहरुलाई भारत ल्याउने बताइएको छ । आगलागीमा परी भारतीय नागरिकको मृत्यु भएको घटनाप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले शोक व्यक्त गरेका छन् ।
कुवेतका मिडियाहरुका अनुसार ६ तले भवनमा बुधबार बिहान स्थानीय समय अनुसार ६ बजे आगलागी भएको थियो । सो भवनलाई एक स्थानीय कम्पनीले श्रमिक क्याम्पको रुपमा प्रयोग गर्दै आएको थियो । त्यहाँ करिब २ सय प्रवासी कामदारहरुलाई राखिएको थियो । यद्यपि सो भवनको क्षमता भने त्योभन्दा कम रहेको बताइएको छ ।
भवनमा नेपाली कामदारहरु पनि थिए । आगलागीमा परी ५ जना नेपालीहरु घाइते भएको बुझिएको छ ।आगलागीको कारण खुलेको छैन ।