भारतको उत्तर प्रदेशमा धार्मिक भेलामा भागदौड, मृत्यु हुनेको संख्या १२१ पुग्यो

एजेन्सी । भारतको उत्तरप्रदेशस्थित हाथरस जिल्लामा धार्मिक कार्यक्रममा भागदौड हुँदा मृत्यु हुनेको संख्या १२१ पुगेको छ।

भारतीय समाचार संस्था एनडिटिभीमा अनुसार मंगलबार ‘भोले बाबा’ नाम गरेका नारायण सरकार हरिको सत्संग कार्यक्रममा सहभागी मानिसहरूबीच भागदौड मच्चिँदा १२१ जनाको मृत्यु भएको छ। ती बाबाको वास्तविक नाम सुरज पाल रहेको समाचारमा जानइएको छ।

लाखौं भक्तजनहरू सहभागी भएको कार्यक्रममा भागदौड हुँदा ज्यान गुमाउनेमा महिलाहरू धेरै छन्। एक सय जना भन्दा बढी महिला र ७ बालबालिकाको मृत्यु भएको हो। त्‍यस्तै २८ जना भक्तजन घाइते समेत छन्।

उत्तर प्रदेश सरकारले मृतक परिवारलाई दुई लाख भारू राहत दिने घोषणा गरेको छ। यस्तै, घाइतेलाई ५० हजार भारु क्षतिपूर्ति दिने घोषणा गरेको हो।

प्रहरी अधिकारीका अनुसार कार्यक्रम सकिने बेलामा उक्त घटना भएको हो। साँझ ‘भोले बाबा’ले सत्संग छाडेर जाँदै गर्दा भक्तजनहरू उनी पछाडि दौडिएका थिए। भक्तजनहरू बाबा चढेको गाडीको टायरबाट झरेको धुलो लिन एक्कासि दौडिएको एनडिटिभीले जनाएको छ। एक्कासि ठूलो भीड दौडिँदा सयौं मानिसहरू भुइँमा एकअर्कामाथि लड्न पुगेका थिए।

यस घटनापछि अनुसन्धान गर्न उच्चस्तरीय छानबिन कमिटी बनाएको छ। प्रहरीले सत्संगका आयोजकविरूद्ध एफआइआर दर्ता गरेको छ। ८० हजार सहभागी हुन अनुमति लिएको उक्‍त सत्संगमा साढे दुई लाख भक्तजन सहभागी थिए।