न्यूरोड क्षेत्रका सडकमा पार्किङ गर्न नपाइने

काठमाडौं। आज देखि काठमाडौंको न्यूरोड क्षेत्रका खुला सडकमा सवारी पार्किङ गर्न नपाइने भएको छ। काठमाडौं महानगरपालिकाले मंगलबारदेखि न्यूरोड क्षेत्रको कालोपत्रे सडकमा सवारी पार्किङमा रोक लगाउने भएको हो। यसको विकल्पमा काठमाडौं टावरमा निःशुल्क पार्किङको व्यवस्था हुने महानगरले जनाएको छ।

काठमाडौं महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले यसअघि पार्किङ भइरहेको ठाउँलाई खाली गरेर सरसफाइ गरिने बताए। पाण्डेका अनुसार धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल आसपासको कालोपत्रे सडकमा पार्किङ निषेध गरिने भएकोछ।