काठमाडौँ । जेन–जी आन्दोलन भएको एक वर्ष पूरा भएको अवसरमा मंगलबार काठमाडौंको नयाँ बानेश्वरस्थित पुरानो संसद् भवन परिसरमा दीप प्रज्वलन गरिएको छ।
आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको सम्झना तथा घाइतेहरूको सम्मानमा आयोजित कार्यक्रममा ठूलो संख्यामा सर्वसाधारणको सहभागिता रहेको थियो।
कार्यक्रममा गृहमन्त्री सुधन गुरुङसहित जेन–जी आन्दोलनका घाइते, शहीद परिवारका सदस्य, युवा तथा सर्वसाधारण सहभागी भएका थिए। सहभागीहरूले आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको तस्बिरमा पुष्पगुच्छा अर्पण गर्दै दीप प्रज्वलन गरेका थिए। केहीबेर मौनधारणसमेत गर्दै शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरिएको थियो।
सरकारले भदौ २३ लाई जेन–जी शहीद दिवसका रूपमा मनाउने निर्णय गरेअनुसार मंगलबार देशभर विभिन्न स्मृति तथा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको हो। यस अवसरमा सरकारले सार्वजनिक बिदासमेत दिएको हो ।
गत वर्ष भदौ २३ गते सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, भ्रष्टाचार, बेथिति, सुशासनको अभावलगायत विषय उठाउँदै जेन–जी पुस्ताका युवाहरूले काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरतर्फ प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा सुरक्षा निकाय र आन्दोलनकारीबीच झडप भएपछि ठूलो मानवीय क्षति भएको थियो।
आन्दोलन भदौ २४ गते थप उग्र बनेपछि देशका विभिन्न स्थानमा हिंसात्मक घटना, आगजनी तथा तोडफोडसमेत भएका थिए। त्यसपछिका घटनाले तत्कालीन राजनीतिक परिस्थितिमा ठूलो परिवर्तन ल्याएको थियो। एक वर्षपछि पनि आन्दोलनका क्रममा उठाइएका सुशासन, जवाफदेहिता, पारदर्शिता, संस्थागत सुधार तथा डिजिटल अधिकारका मुद्दाको कार्यान्वयनबारे बहस जारी छ।





























