वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ३३ लाख ठगी गर्ने पक्राउ

काठमाडौं ।वैदेशिक रोजगारीको लागि अजरबैजान पठाइदिने भन्दै ३३ लाख २ हजार ठगी गर्ने एक कन्सल्टेन्सी सञ्चालकलाई पक्राउ परेको छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कन्सल्टेन्सी सञ्चालक रामशरण शिवाकोटीलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीका अनुसार पक्राउ परेका निज शिवाकोटीले मिराकल कन्सल्टेन्सी खोली युनिसा आले मगरलाई वैदेशिक रोजगारीका लागि अजरबैजान पठाइदिने पटकपटक गरी १६ लाख ५० हजार, राजन प्रसाईंसहित तीन जनाबाट १६ लाख ५२ हजार ठगी गरी सम्पर्कविहीन भएको उजुरीका आधारमा पक्राउ गरिएको हो ।

‘प्रारम्भिक अनुसन्धानमा सिवाकोटीले फ्रान्स, स्पेन, युक्रेनलगायतका देशमा रोजगारीका लागि पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिहरुसँग रकम लिएको खुलेको प्रहरीले जनाएको छ । उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको छ।